spot_img

सवारी दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

- Advertisement -

बैतडी जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वयमा देहीमाण्डौं, सतबाँझ, खोड्पे र गोकुलेश्वर गरी चार स्थानमा बहस कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार प्रदेश प्रहरी कार्यालयको निर्देशनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो । “ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामध्ये ट्याक्टरसम्बन्धी दुर्घटनाको दर उच्च भएकाले सचेतनामूलक बहस सञ्चालन गरिएको हो,” प्रहरी निरीक्षक पाण्डेयले भन्नुभयाे ।

उहाँका अनुसार कार्यक्रममार्फत सवारी चालक, ट्याक्टरधनी तथा सर्वसाधारणलाई सवारी दुर्घटना न्यूनीकरणका उपाय, ट्राफिक नियम, सवारी सञ्चालन ऐन लगायतका विषयमा जानकारी दिइएको थियो । ‘‘सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन सञ्चालन सम्बन्धी कानुनी ज्ञान अपरिहार्य भएकाले यस किसिमका बहस आवश्यक ठानेका छौं,” पाण्डेयको भनाइ छ ।

बहसका क्रममा ट्याक्टर व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नुपर्ने भए पनि ग्रामीण क्षेत्रमा यात्रु बोक्ने प्रवृत्ति बढिरहेकोप्रति चिन्ता व्यक्त गरिएको थियो। त्यस्तै, ट्याक्टर चालकहरूले प्रायः चालक अनुमतिपत्र (लाइसेन्स) बिना नै सवारी सञ्चालन गर्ने गरेको पाइएकाले त्यसो नगर्न सचेत गराइएको प्रहरीको भनाइ छ ।

अवैध रूपमा उत्खनन गरिएका नदीजन्य पदार्थ, ढुंगा, गिट्टी, बालुवा आदि को ढुवानीका लागि ट्याक्टर प्रयोग गर्ने प्रचलनसमेत बढ्दो रहेको जनाउँदै त्यसलाई कानुनी दायरामा ल्याउने विषयमा पनि जानकारी गराइएको थियो । क्षमताभन्दा बढी भार बोक्दा र सामग्री नछोपेर ढुवानी गर्दा हुने जोखिमबारे समेत प्रहरीको ध्यानाकर्षण रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार ‘ट्याक्टर बहस’ कार्यक्रम सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम, कानुनी चेतना र नागरिक सरोकारका विषयमा केन्द्रित रह्यो । ‘‘ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनाको प्रकृति अध्ययन गर्दा ट्याक्टरबाट खसेर मृत्यु हुने घटनाको दर उच्च देखिएकोले यसलाई प्राथमिकतामा राखेर बहस सञ्चालन गरिएको हो,” उहाँले बताउनुभयो ।

प्रमुख बजार क्षेत्र खोड्पे, पाटन, खोचलेक, गोकुलेश्वर लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । प्रहरीका अनुसार यस्ता कार्यक्रमले जनस्तरमा सचेतना वृद्धि भई दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img