बैतडी: मेलौली नगरपालिकाले कक्षा ८, एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।
नगरपालिकाभित्रका विद्यालयबाट शैक्षिक सत्र २०८१ को कक्षा ८, २०८० को एसईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो।
शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीका अनुसार, कक्षा ८ को परीक्षामा प्रथम भएका मणिलेक माध्यमिक विद्यालय काँडाका सुमन दयाललाई २० हजार, दोस्रो भएका धर्मघर मावि सलेनाका नवीन जोशीलाई १५ हजार र तृतीय भएका मणिलेक माविकै धिरेन्द्र ओझालाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
त्यस्तै, २०८० सालको एसईई परीक्षामा पालिकाभरिमा प्रथम भएकी धर्मघर माविकी ज्योति जोशीलाई ३५ हजार, दोस्रो भएकी शितलपुर माविकी प्रतिक्षा बिष्टलाई ३० हजार र तृतीय स्थान प्राप्त गरेका मणिलेक माविका विजय भट्टलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको कम्प्युटर अपरेटर महेन्द्रसिंह नायकले जानकारी दिए।
कक्षा १२ को नतिजामा पनि मणिलेक माविका विद्यार्थीहरू अग्रपंक्तिमा देखिए। प्रथम भएका दर्शन नेगीलाई ३५ हजार, दोस्रो नरेशदत्त ओझालाई ३० हजार र तृतीय तेज ओडलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
नगर प्रमुख भीमबहादुर चन्दले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीको हौसला बढाउन यस्ता सम्मान कार्यक्रम आयोजना गर्दै आएको बताए। प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले पछिल्ला दुई वर्षदेखि नगरपालिकाले नगर क्षेत्रभित्रका मेधावी विद्यार्थीलाई नियमित रूपमा सम्मान गर्दै आएको जानकारी दिए।








