बैतडी, पञ्चेश्वर : बैतडीको पञ्चेश्वर गाउँपालिकाले शैक्षिक सुधारका उद्देश्यसहित ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाभरिका विद्यालयमा चरणबद्ध रूपमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सुझाव संकलनसँगै अन्तक्र्रिया गरिएको थियो।
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दका अनुसार, कार्यक्रममा प्राप्त सुझावहरू गाउँपालिकाको आगामी शिक्षा नीति र बजेट निर्माणमा समावेश गरिनेछ। “शैक्षिक सुधारका लागि आवश्यक पूर्वाधार निर्माण र शिक्षकहरूको क्षमता अभिवृद्धिका तालिमहरू गाउँपालिकाले प्राथमिकतामा राख्नेछ,” अध्यक्ष चन्दले बताउनुभयो।
कार्यक्रमका संयोजक राईजन चौडलाका अनुसार, यस अभियानले विद्यालयस्तरका समस्या पहिचान गरी त्यसको समाधान खोज्ने प्रयत्न गरेको छ। शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालयमा देखिएका विभिन्न समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए।
गाउँपालिका उपाध्यक्ष विना भट्टले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम शिक्षाको गुणस्तर उकास्न र विद्यालयका समस्याहरू बुझ्न प्रभावकारी माध्यम भएको बताउनुभयो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थी र शैक्षिक सहजकर्ता पुष्पराज लेखकले शैक्षिक सुधारका उपायबारे कक्षा सञ्चालन गरेका थिए। साथै, इलाका प्रहरी तस्र्वदेहीले बालविवाह, लागुऔषध दुरुपयोग तथा साइबर अपराधसम्बन्धी सचेतनामूलक कक्षाहरू सञ्चालन गरेका थिए।










