बैतडी- सुदूरपश्चिम प्रदेशमा दैनिक कोरोना संक्रमित भेटिन थालेका छन्।पछिल्लो २४ घण्टामा यहाँ थप चार जनामा कोभिड १९ संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुने सबै पुरूष रहेका र उनीहरू भारतबाट फर्किएका रहेका छन्।तीनजना त्रिनगर नाका र एकजना झुलाघाट नाका एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
त्रिनगर नाकामा संक्रमण पुष्टि हुनेमा कञ्चनपुर,अछाम र बझाङका रहेका छन्। झुलाघाटमा संक्रमण देखिने पुरूष बझाङका रहेका जोशीले बताउनुभयो ।उहाँले भन्नुभयो,”शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ।कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौं।”
यसअघि शुक्रबार पनि यहाँ पाँच,बिहीबार १ र बुधबार तीनजनामा संक्रमण देखिएको थियो।यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ पुगेको छ।
भारत तथा अन्य छिमेकी राष्ट्रहरुमा कोभिड १९ को संक्रमण देखा परिरहेकोले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकाहरुमा सतर्कता अपनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिइएपनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने एन्टिजेन किटको अभाव रहेको छ ।कोभिड १९ को संक्रमण जोखिम बढेकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।










