वासुलिङ बैतडी, साउन १७ गते । पहाडका फाँटभरि लहरै फैलिएका हरिया गरा, खेत वनजङ्गलको शीतल आलिङ्गन, काखैबाट अविरल बग्ने स्वच्छ मूलका पानी, छरिएका ग्रामीण बस्ती र शान्त वातावरण । बैतडीको सुर्नया गाउँपालिका–५ स्थित हरिचन पुग्ने जो–कोहीलाई पहिलो नजरमै मोहित बनाउने यिनै दृश्यहरूले यहाँको प्राकृतिक वैभवको परिचय दिन्छन् ।
समुद्री सतहदेखि करिब २,९०० मिटर उचाइमा अवस्थित हरिचन सुर्नया गाउँपालिकाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता, रैथाने कृषि प्रणाली र मौलिक संस्कृतिको अनुपम संगमका रूपमा परिचित यो गाउँ ग्रामीण जीवनको जीवन्त संग्रहालयजस्तै देखिन्छ ।
रौलाकेदार मन्दिरको काखमा रहेको हरिचनका डाँडाकाँडामा पुस्तौँदेखि स्थानीय किसानले अपनाउँदै आएको गरा खेती आज पनि मौलिक स्वरूपमै जीवित छ । वर्षायाममा हरियालीले ढाकिएका ती गरा हेर्दा प्रकृतिले आफैँ कुँदेको अनुपम चित्रझैँ अनुभूति हुन्छ । टाढाबाट हेर्दा पहाडभरि फैलिएको हरियो दृश्यले आगन्तुकलाई सहजै लोभ्याउँछ ।
हरिचन केवल मनोरम दृश्यको गाउँ मात्र होइन, जैविक सम्पदाको पनि धनी क्षेत्र हो । यहाँका वनमा विभिन्न प्रकारका बहुमूल्य जडीबुटी पाइन्छन् । स्थानीयले परम्परादेखि औषधीय प्रयोजनका लागि प्रयोग गर्दै आएका ती जडीबुटीको संरक्षण र वैज्ञानिक व्यवस्थापन गर्न सके स्थानीय आयआर्जनको भरपर्दो आधार बन्न सक्ने सम्भावना रहेको स्थानीय गणेशबहादुर मडैले बताउनुभयो ।
यस क्षेत्रको अर्को विशेषता स्वच्छ प्राकृतिक मुहान हुन् । पहाडका काखबाट अविरल बग्ने मूलहरूले गाउँका अधिकांश बस्तीमा खानेपानीको आवश्यकता पूरा गर्दै आएका छन् । चिसो, सफा र स्वच्छ पानीले यहाँको वातावरणलाई अझ जीवन्त र स्वास्थ्यकर बनाएको छ । हरिचनका अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन् ।
गाई, भैँसी र बाख्रापालनसँगै मकै, कोदो, फापर, गहत, भट्ट, सिमी लगायतका रैथाने बाली उत्पादन गर्ने परम्परा अझै पनि निरन्तर छ । रासायनिक मलभन्दा गोठको प्राङ्गारिक मल प्रयोग गर्ने चलनका कारण यहाँ उत्पादन हुने अन्नबाली स्वादिलो र तुलनात्मक रूपमा जैविक मानिने कृषि प्राविधिकहरू बताउँछन् । यहाँको सामाजिक जीवन पनि उत्तिकै प्रेरणादायी छ । भलाकुसारी, मेलापात, श्रमदान र आपसी सहयोगको संस्कृति अझै जीवन्त छ । खेतीपातीदेखि घर निर्माणसम्म सामूहिक सहभागिताको अभ्यासले गाउँमा सामाजिक सद्भाव र एकतालाई बलियो बनाएको छ । यही सहकार्यले हरिचनलाई आत्मनिर्भर गाउँका रूपमा चिनाएको स्थानीय करविर मडैले बताउनुभयो ।
हरिचनको मौलिक संस्कृति झन् आकर्षक छ। गाउँलेहरू परम्पराअनुसार सामूहिक रूपमा गोठालो जाने, खर तथा घाँस काट्ने क्रममा स्थानीय भाषाका देउडा गीत ठूलो स्वरमा गाउँदै काम गर्ने चलन आज पनि जोगिएको छ । “झम्कोडालिमा वारिफागाला पारिफागला डालिमा साल्लीका आगाला, झम्कोडालिमा तोई सुवा सम्झ्याको बेला डालिमा मन हुन्छ पागलला…“ जस्ता देउडा भाकाले यहाँका पाखापखेरा अझै गुन्जायमान हुने गरेको स्थानीय बेलमती मडैले सुनाउनुभयो । श्रमसँगै गीत गाउने यो संस्कृति पुस्तौँदेखि समुदायको पहिचान बनेको छ ।
हरिचनबाट गाउँपालिकाको केन्द्र पुग्न अझै करिब चार घण्टा पैदल ओरालो झर्नुपर्छ । यातायातको सहज पहुँच नहुँदा गाउँलेले दैनिक जीवनमा विभिन्न कठिनाइ भोग्दै आएका छन् । यद्यपि गाउँसम्म सडक विस्तारको काम अघि बढिरहेको गाउँपालिकाले जनाएको छ । साथै किसानलाई अनुदानका कृषि कार्यक्रम, उन्नत बीउबिजन तथा अन्य कृषि सामग्री उपलब्ध गराउने कार्यसमेत भइरहेको जनाएको छ ।
स्थानीयका अनुसार सडक, सञ्चार तथा पर्यटन पूर्वाधारको विकास गर्न सके हरिचन ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्छ। यहाँबाट देखिने हरिया पहाड, फराकिला गरा, छरिएका गाउँबस्ती, स्वच्छ हावा र प्राकृतिक दृश्यले प्रकृतिप्रेमीलाई सहजै आकर्षित गर्छ।
स्थानीय तह र सम्बन्धित निकायले प्राकृतिक सम्पदा, जडीबुटी, रैथाने कृषि प्रणाली तथा मौलिक संस्कृतिको संरक्षणसँगै पूर्वाधार विकासलाई प्राथमिकता दिए हरिचन सुर्नयाको मात्र नभई बैतडीकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने सुर्नया गाउँपालिका–५ का वडाध्यक्ष केशव विष्ट बताउनुहुन्छ ।
प्रकृति, संस्कृति र कृषिको अद्भुत संगम बोकेको हरिचन आज पनि आफ्नो मौलिक ग्रामीण जीवनशैली जोगाउँदै विकासका नयाँ सम्भावनाको प्रतीक्षामा छ । हरियालीले सजिएको यो गाउँ केवल एउटा बस्ती होइन, प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत र आत्मनिर्भर ग्रामीण जीवनको अनुपम उदाहरण हो ।











