बैतडी, असोज ७ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ ।
जिल्ला निर्वाचन समितिले प्रदेश सभा ‘क’ र ‘ख’ क्षेत्रीय अधिवेशनका साथै महाधिवेशन प्रतिनिधिका लागि असोज ८ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
जिल्ला निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार असोज ८ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मनोनयन दर्ता गरिने छ। मनोनयन दर्ता गर्न इच्छुक उम्मेदवारले पार्टीको विधान तथा निर्वाचन निर्देशिकाबमोजिम तोकिएको शुल्क र लेबी बुझाएको निस्सासहित उम्मेदवारी दर्ता गर्नुपर्ने जनाइएको छ।
बैतडीमा प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ का पदाधिकारी तथा सदस्यको निर्वाचन हुनेछ। क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिवलगायत पदाधिकारी तथा समावेशी व्यवस्थाअनुसार सदस्य चयन हुने निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, १५औँ महाधिवेशनका लागि बैतडीबाट चयन हुने प्रदेश अधिवेशन प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत विभिन्न समावेशी समूहका लागि प्रतिनिधित्वको व्यवस्था गरिएको छ। महिला, खुला, युवा, दलित, अपाङ्गता भएका व्यक्ति, श्रमिक, लोकतान्त्रिक आन्दोलनका सहिद परिवार तथा द्वन्द्व प्रभावित परिवार, अल्पसङ्ख्यकलगायत समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको सूचनामा उल्लेख छ।
निर्वाचन समितिका अनुसार प्रदेश अधिवेशनका लागि प्रदेश सभा ‘क’ र ‘ख’ बाट अलग–अलग प्रतिनिधि चयन हुनेछन्। त्यस्तै, जिल्ला अधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्दा पनि समावेशी समूहको प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनपछि पालिका हुँदै प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाएको हो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गते गर्ने कार्यक्रम थियो।
कांग्रेसको केन्द्रीय महाधिवेशन भने २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका रहेको छ। बैतडीमा पनि वडा अधिवेशनपछि पालिका तहका अधिवेशन सम्पन्न हुँदै अब क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि चयनतर्फ प्रक्रिया अघि बढेको हो। पछिल्लो विवरणअनुसार बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा वडा अधिवेशनको प्रक्रिया अघि बढिसकेको छ।








