बैतडी, असोज ८ गते ।
नेपाली कांग्रेस बैतडीको १० वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। पालिका तहको अधिवेशनबाट सबै स्थानीय तहमा नेतृत्व निर्विरोध चयन गरिएको छ।
मंगलबार चार स्थानीय तहमा अधिवेशन सम्पन्न भएकोमा बुधबार बाँकी छ स्थानीय तहको अधिवेशन सम्पन्न भएसँगै जिल्लाका सबै १० पालिकाको अधिवेशन टुङ्गिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो।
अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ। पालिका तहमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको सभापति चन्दले बताउनुभयो।
पालिका अधिवेशनसँगै वडा तहको अधिवेशनमा पनि समावेशी सहभागिता देखिएको कांग्रेसले जनाएको छ। जिल्लाका ८४ वडामध्ये पाँच वडामा दलित समुदायबाट र दुई वडामा महिला सभापति चयन भएका छन्।
पालिकागत रूपमा दशरथचन्द नगरपालिकाको सभापतिमा कर्णबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद र पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द चयन हुनुभएको छ।
त्यस्तै, दोगडाकेदार गाउँपालिकामा डम्बर सिंह कार्की, शिवनाथ गाउँपालिकामा महामल सिंह साउद, सुर्नया गाउँपालिकामा उत्तमबहादुर चन्द, सिगास गाउँपालिकामा दीपकसिंह धामी र डिलासैनी गाउँपालिकामा देवराज जोशी सभापतिमा चयन हुनुभएको कांग्रेस बैतडीले जनाएको छ।
वडा र पालिका तहको अधिवेशन सम्पन्न भएसँगै कांग्रेस बैतडीको संगठनात्मक संरचना गठनको प्रक्रिया अघि बढेको छ। अब अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूको सहभागितामा पार्टीको आगामी तहको अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।










