spot_img

लगातारको वर्षाले बैतडीको एक विद्यालयमा क्षति, ६ घर पहिरोको जोखिममा

जिल्लाका विभिन्न ग्रामीण सडकमा पहिरो खस्दा यातायातसमेत प्रभावित भएको छ । हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

- Advertisement -

बैतडी, असोज ११ गते । लगातारको वर्षाका कारण बैतडीमा एउटा विद्यालय भवनमा क्षति पुगेको छ भने छ वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाका विभिन्न ग्रामीण सडकमा पहिरो खस्दा यातायातसमेत प्रभावित भएको छ । हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मेलौली नगरपालिका–९ स्थित विशालपुर माध्यमिक विद्यालयको खेलमैदानको पर्खाल भत्किँदा विद्यालय भवनमा क्षति पुगेको छ । विद्यालय भवनमाथि रहेको खेलमैदानको पर्खाल वर्षाका कारण भत्किएपछि तीन वटा कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अर्को एउटा कक्षाकोठामा आंशिक क्षति पुगेको विद्यालयले जनाएको छ ।

यस्तै, दशरथचन्द नगरपालिका–४ बबेतमा गाउँमाथिबाट खसेको पहिरोले पार्वती ओडको कच्ची घरमा क्षति पुर्‍याएको छ । सोही ठाउँका महेशराम ओड, नरेशराम ओड, लछीराम ओड, जगदीश ओड र दमन ओडको घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । यसैगरी सुर्नया गाउँपालिका–८ ढलेमा बाढीको जोखिम बढेको स्थानीयवासीले बताएका छन् । लगातार पानी परिरहेका कारण खोला तथा आसपासका बस्तीमा जोखिम बढेको स्थानीय मानबहादुर बोहराले बताउनुभयो ।

बैतडीसहित आसपासका जिल्लामा असोज ८ गते बेलुकीदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । ठाउँ–ठाउँमा पहिरो खसेपछि स्थानीयवासीले तत्कालका लागि पहिरो हटाएर सडक तथा बाटो सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । सुर्नया गाउँपालिका–४ का स्थानीय हरिस भाटका अनुसार ग्रामीण क्षेत्रमा घर, मन्दिर तथा सडक आसपास पहिरो खसेका छन् । निरन्तरको वर्षाका कारण ग्रामीण क्षेत्रमा आवतजावतमा समस्या भइरहेको उहाँले बताउनुभयो ।

वर्षाका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार पनि सूचना जारी गरी यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । विभिन्न सडकखण्डमा पहिरो तथा बाढीको जोखिम रहेकाले यातायात सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको हो । लगातार तीन दिनदेखि भइरहेको वर्षा र हुरीका कारण जनजीवनसमेत प्रभावित बनेको पाटन नगरपालिका–४ का स्थानीय मदनसिंह ऐरीले बताउनुभयो । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका बासिन्दालाई दैनिक आवतजावत तथा अत्यावश्यक कामका लागि समेत समस्या भएको उहाँले बताउनुभयो ।

जिल्लामा वर्षा अझै जारी रहेकाले पहिरो तथा बाढीको जोखिम भएका स्थानमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त बस्ती तथा सडकको अवस्थाबारे निगरानी गरिरहेका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img