बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत भदौमै सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका आचार्य आज कार्यालयमा हाजिर हुनुभएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामो समयदेखि गाउँपालिकाका आर्थिक तथा प्रशासनिक काम प्रभावित हुँदै आएका थिए। अधिकृत हाजिर भएसँगै रोकिएका आर्थिक तथा प्रशासनिक काम अघि बढ्ने गाउँपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति भएसँगै गाउँपालिकाको सेवा प्रवाह तथा नियमित प्रशासनिक काममा समेत सहजता आउने अध्यक्ष कुँवरले बताउनुभयो।










