बैतडी, असोज १० गते । लगातारको वर्षाका कारण बैतडी जिल्लामा सार्वजनिक सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको पछिल्लो मौसम बुलेटिनअनुसार बैतडी जिल्ला सतर्क रहनुपर्ने (Be Alert) वर्गमा रहेको तथा जिल्लाको उत्तर र दक्षिणतर्फका जिल्ला अतिजोखिम (Red Zone) मा रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।
बैतडीमा असोज ९ गते रातिदेखि निरन्तर वर्षा भइरहेकाले आज असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीन अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनका अनुसार उक्त अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयसँग सम्पर्क गर्न आग्रह गरिएको छ । साथै जिल्लावासीलाई मौसमको अवस्था हेरी सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
सवारीसाधन आवागमन रोकसम्बन्धी थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ । प्रशासनले यसअघि जारी गरेका अन्य सतर्कतासम्बन्धी सूचनालाई समेत आधार मान्न अनुरोध गरेको छ ।
सम्पर्कका लागि: जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला प्रहरी कार्यालय बैतडी, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), नेपाल प्रहरी हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपाल हटलाइन १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।











