बैतडी, असोज ८ गते । आगामी आश्विन ८ देखि १२ गतेसम्म सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार सूचना जारी गर्दै जलवायु परिवर्तनलगायतका कारण पछिल्ला वर्षमा वर्षाको समय, अवधि र स्वरूपमा परिवर्तन तथा अनिश्चितता देखिनुका साथै छोटो समयमा अत्यधिक वर्षा हुने ‘एक्स्ट्रिम रेनफल’का घटनाको जोखिम बढ्दै गएको जनाएको छ।
वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पानी परेको समयमा बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन नगर्न तथा नगराउन प्रशासनले अनुरोध गरेको छ। पक्की सडकमा समेत मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र लामो दूरीको यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
त्यसैगरी मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायलाई डोजर, एक्स्काभेटरलगायत आवश्यक उपकरण तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न भनिएको छ।
बाढी तथा पहिरोको जोखिम रहेका सडक, नदी, खोला, पहिरो प्रभावित क्षेत्र र कमजोर भूबनोट भएका स्थानमा अनावश्यक आवतजावत नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। पहिरोको जोखिममा रहेका बस्ती तथा घरपरिवारलाई विशेष सतर्क रहन र जोखिमको संकेत देखिएमा सुरक्षित स्थानमा स्थानान्तरण हुन भनिएको छ।
घरपरिवारमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिको विशेष ख्याल गर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनालगायतका विपद्को जोखिमप्रति सचेत रहन, मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र आधिकारिक जानकारीलाई ध्यानपूर्वक पालना गर्न तथा आवश्यक पूर्वतयारी अवस्थामा रहन सबैमा अनुरोध गरेको छ।








