बैतडी, असोज ७ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीका पाँच स्थानीय तहमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सम्बन्धित स्थानीय तहका सभापतिसहित नगर तथा गाउँ कार्यसमिति निर्वाचित भएका छन्।
अधिवेशनबाट पुर्चौडी नगरपालिकाको सभापतिमा मोहनसिंह साउद निर्वाचित हुनुभएको छ। यस्तै, दोगडाकेदार गाउँपालिकाको सभापतिमा डम्मरसिंह कार्की, सुर्नया गाउँपालिकाको सभापतिमा उत्तमबहादुर चन्द, शिवनाथ गाउँपालिकाको सभापतिमा महामलसिंह साउद र पञ्चेश्वर गाउँपालिकाको सभापतिमा लोकेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको नेपाली कांग्रेस बैतडीले जनाएको छ।
अधिवेशनबाट निर्वाचित नगर तथा गाउँ कार्यसमितिका सभापति, पदाधिकारी तथा सदस्यलाई नेपाली कांग्रेस बैतडीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
स्थानीय तहका अधिवेशनले पार्टीको संगठनलाई स्थानीयस्तरमा थप व्यवस्थित बनाउनुका साथै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन आधार तयार गर्ने कांग्रेस नेताहरूले बताएका छन्।
यसैबीच, जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न भए पनि मेलौली नगरपालिकामा भने विविध कारणले नयाँ नेतृत्व चयन हुन नसकेको नेपाली कांग्रेस बैतडीले जनाएको छ।











