spot_img

बस्तीपुर माविको साख फर्किने आशा

- Advertisement -

लहान, असोज ६ गते । लहान नगरपालिका–१४ मा रहेको २००४ सालमा स्थापित श्री बस्तीपुर माध्यमिक विद्यालयको पुरानो साख फर्किने आशा स्थानीयवासीमा जागेको छ । शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयमा पुगेर स्थलगत निरीक्षण गरेपछि विद्यालयको अवस्थामा सुधार आउने आशा जागेको हो ।

तीन दशकअघि तीन हजारभन्दा बढी विद्यार्थी भर्ना हुने यस विद्यालयमा नौवटा छात्रावासमा पाँच सयभन्दा बढी विद्यार्थी बस्ने गरेका थिए । अहिले भने विद्यार्थी सङ्ख्या ८०२ मा सीमित भएको छ ।

२०१५ र २०३७ सालको एसएलसी परीक्षामा क्रमशः सुरेन्द्ररञ्जन बराल र राजेश अधिकारीले तेस्रो स्थान हासिल गरेका तथा तीन दशकअघिसम्म ४० भन्दा बढी विद्यार्थीले एसएलसीमा प्रथम श्रेणी ल्याएर पूर्वाञ्चलमै उत्कृष्ट नतिजा हासिल गरेको यस विद्यालयको अवस्था पछिल्लो तीन दशकयता खस्कँदै गएको लहान–१४ का वडाध्यक्ष धनिकलाल यादवले बताउनुभयो ।

उहाँका अनुसार सहरी क्षेत्रबाट संस्थागत विद्यालयहरूले बसमार्फत विद्यार्थी ओसार्नु र अंग्रेजी शिक्षाप्रतिको मोह बढ्नुले विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको हो ।

भदौ २७ गते सिरहा–१ का सांसद बब्लु गुप्ताको विशेष पहलमा शिक्षा मन्त्री सस्मित पोखरेल विद्यालयको निरीक्षण भ्रमणमा पुग्नुभएको थियो । जस्तापातामुक्त र प्रविधियुक्त विद्यालय बनाउने उद्देश्यसहित मन्त्री विद्यालयमा पुगेपछि स्थानीयवासीमा विद्यालयको साख फर्किने आशा पलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण यादवले बताउनुभयो ।

उहाँका अनुसार लहान नगरपालिकाले विद्यालयको साख फर्काउन अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि केही सुधार भएको छ । तर, ८० वर्ष पुरानो विद्यालय भवन विस्थापित गरी नयाँ तथा सुविधासम्पन्न भवन निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । “शिक्षा मन्त्री स्वयं विद्यालयमा आएर आवश्यक सहयोग गर्ने विश्वास दिलाएपछि हामी निकै खुसी भएका छौँ,” उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिका पिता मित्रलाल गिरी र पण्डित विश्वरञ्जन बरालले स्थापना गरेको यस विद्यालयको विकासमा तीन दशकअघिसम्म पहाडे समुदायको सक्रिय भूमिका रहेको स्थानीयवासी बताउँछन् । पहाडे समुदाय बस्तीपुरबाट अन्यत्र बसाइँ सर्नु तथा अंग्रेजी शिक्षाप्रतिको मोह बढ्दै जानुले विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेर दयनीय अवस्थामा पुगेको स्थानीय जोगी यादवले बताउनुभयो ।

दलित समुदायका अभिभावकले समेत आफ्ना बालबालिकालाई नजिकै सञ्चालनमा आएका संस्थागत विद्यालयमा भर्ना गर्न थालेपछि विद्यालयको साख खस्किएको स्थानीयवासीको भनाइ छ ।

निर्वाचनका बेला विद्यालयको साख फर्काउन काम गर्ने प्रतिबद्धता जनाउनुभएका सिरहा–१ का सांसद बब्लु गुप्ताले थालेको प्रयासपछि शिक्षा मन्त्री स्वयं विद्यालयमा पुग्नु सकारात्मक भएको स्थानीय मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो । “शिक्षा मन्त्रीको आगमन र सांसद बब्लु गुप्ताको पहल सराहनीय छ,” उहाँले भन्नुभयो ।

शिक्षा मन्त्रीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि व्यक्त गर्नुभएको प्रतिबद्धताले आफूहरूले थालेको प्रयासमा थप बल पुगेको विद्यालयका प्रधानाध्यापक शोभानन्द चौधरीले बताउनुभयो ।

शिक्षा मन्त्रीको अनुगमन तथा निरीक्षणका क्रममा व्यक्त गरिएको प्रतिबद्धता कति पूरा हुन्छ भन्ने जिज्ञासामा सिरहा–१ का सांसद बब्लु गुप्ताले भन्नुभयो, “यस क्षेत्रको उत्तरी भेगमा पर्ने लहान–१४ को श्री बस्तीपुर माध्यमिक विद्यालय र भगवानपुर गाउँपालिकाको श्री हनुमानप्रसाद शारदा माध्यमिक विद्यालयलाई स्तरीय विद्यालय बनाउने र पुरानो साख फर्काउने उद्देश्यले निरीक्षण गरिएको हो । विद्यालय बन्छ, ढुक्क हुनुस् ।”

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img