शारदा (सल्यान), असोज ६ गते । सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी रहेका छन् । तीमध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण सुरु गर्ने तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
जिल्लामा छ वटा वडाका भवन नै छैन । बागचौर नगरपालिकाका १२ वडामध्ये वडा नं. ४ को भवन बन्न बाँकी छ । नगरप्रमुख जनकराज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार पहिलो कार्यकालमा तीन वटा भवन निर्माण भएका थिए भने बाँकी भवन आफूहरूको दोस्रो कार्यकालमा निर्माण गरिएको हो ।
वनगाढ कुपिन्डे नगरपालिकाका १२ वडामध्ये वडा नं. ६ को भवन निर्माण हुन बाँकी छ । नगरप्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार जग्गा प्राप्तिमा ढिलाइ भएकाले यस वर्ष निर्माण सुरु गर्ने तयारी छ । उहाँका अनुसार दार्मा गाउँपालिकाका ६ वडामध्ये वडा नं. २ र ६ का भवन बन्न बाँकी छन् । गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले वडा नं. २ को भवन यसै वर्ष निर्माण सुरु जनाउँदै वडा नं. ६ का लागि जग्गा व्यवस्थापन हुन नसकेको बताउनुभयो ।
कपुरकोट गाउँपालिकाको वडा नं. ३ को भवन पनि निर्माण हुन बाँकी छ भने अरू छ वडाका आफ्नै भवन छन् । वडाध्यक्ष प्रदीप खड्काका अनुसार भवनका लागि यसअघि ३८ लाख रुपियाँ विनियोजन गरिएको थियो । जग्गा दानका लागि सूचना आह्वान गरिए पनि जग्गा प्राप्त हुन सकेको छैन । शारदा नगरपालिकाका १५ वडामध्ये वडा नं. २ को भवन जीर्ण अवस्थामा छ भने वडा नं. ६ को भवन निर्माणाधीन छ । योजना शाखा प्रमुख केशवबहादुर बुढाथोकीले वडा नं. ४, ७ र ८ मा कच्ची भवन प्रयोग भइरहेको बताउनुभयो । त्रिवेणी गाउँपालिकामा ६ वडामध्ये वडा नं. २ को भवन यसै वर्ष निर्माण सुरु हुने र वडा नं. १ तथा ४ का भवन जीर्ण अवस्थामा छन् । छत्रेश्वरीका वडा नं. १ र ४ का भवन निर्माणाधीन छन् भने वडा नं. ५ को भवन निर्माण सम्पन्न भई सेवा सुरु गर्ने तयारी छ । कालीमाटीका ७ वडा र कुमाख गाउँपालिकाका सात वटा वडाका आफ्नै भवन छन् । सिद्धकुमाखमा चार वटा वडाका भवन आफ्नै छन् र वडा नं. १ को भवनको करिब ९० प्रतिशत काम सकिएको छ । गाउँपालिकाका अध्यक्ष भरत गिरीका अनुसार दसैँ र तिहारबिचमा त्यहाँबाट सेवा सुरु गर्ने तयारी छ । कतिपय वडाले साबिक गाविसका भवनलाई नै प्रशासनिक कामका लागि प्रयोग गर्दै आएका छन् ।











