बैतडी, असोज ४ गते । बैतडीको सुर्नया गाउँपालिका–३ गोयलीमा बाघको आक्रमणबाट १२ वर्षीय बालक घाइते भएका छन्। आइतबार बिहान करिब ९ बजे छिमेकीको घरतर्फ जाने क्रममा स्थानीय दिपेस भट्टलाई बाघले आक्रमण गरेको स्थानीय दिलाराम भट्टले बताउनुभयो।
बालकमाथि बाघले आक्रमण गरिरहेको थाहा पाएपछि स्थानीयले होहल्ला गर्दा बाघ भागेको उहाँले बताउनुभयो। आक्रमणबाट घाइते भट्टको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ।
भट्ट गोयलीस्थित भूमेश्वर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ। उहाँका बुवाआमा रोजगारीका सिलसिलामा भारतमा रहेकाले बालक हजुरआमासँग बस्दै आउनुभएको स्थानीयले बताएका छन्।











