बैतडी — स्थानीय छलिया बाजागाजासहित प्रभातफेरी निकालेर बैतडीमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। जिल्ला सदरमुकाममा विभिन्न कार्यक्रम आयोजना गरी शनिबार संविधान दिवस मनाइएको हो।
जिल्ला समन्वय समिति, दशरथचन्द नगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका कर्मचारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो। दिवसका अवसरमा गोठलापानी बजारबाट छलिया बाजागाजासहित प्रभातफेरी निकालिएको थियो।
सहभागीहरूले संविधान दिवससँग सम्बन्धित चेतनामूलक तथा सन्देशमूलक नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सदरमुकामका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए। गोठलापानीबाट सुरु भएको प्रभातफेरी गढी बजार पुगेर सभामा परिणत भएको थियो।
गढीस्थित अमर सहिद दशरथचन्दको सालिकमा प्रमुख जिल्ला अधिकारी मीना अर्यालले माल्यार्पण गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। सालिक परिसरमा आयोजित सभामा वक्ताहरूले नेपालको संवैधानिक विकासक्रम, संविधानको मर्म तथा यसको प्रभावकारी कार्यान्वयनका विषयमा धारणा राखेका थिए। संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको संरक्षण गर्दै संविधानको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित सर्वसाधारणको समेत सहभागिता रहेको थियो।










