बैतडी असोज १ गते । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आजपुतनाको प्रतीकका रूपमा तयार पारिएको ‘बुढी’ जलाएर आज बुढी पोल्ने पर्व मनाइँदैछ। असोज संक्रान्तिको साँझ मनाइने यो पर्वमा राक्षसी प्रवृत्तिमाथि भगवान् श्रीकृष्णले विजय प्राप्त गरेको स्मरण गर्दै बुढी जलाउने परम्परा रहेको छ।
स्थानीय संस्कृतिका जानकार आचार्य लवदेव भट्टका अनुसार भाद्र संक्रान्तिका दिन गाडेर राखिएको बुढीलाई असोज संक्रान्तिको साँझ निकालेर जलाउने चलन छ। द्वापर युगमा बालबालिकालाई विषाक्त दूध खुवाएर ज्यान लिने राक्षसी पुतनालाई श्रीकृष्णले दूध चुसी वध गरेको घटनासँग यस पर्वलाई जोडेर हेर्ने गरिएको उहाँले बताउनुभयो।
सुर्नया गाउँपालिका–३ का ज्येष्ठ नागरिक हरिदत्त भट्टका अनुसार ओल्के संक्रान्तिका दिन गोठालाले बाबियोलगायत सामग्रीबाट बुढीको प्रतीक बनाएर गाड्ने गर्छन्। त्यसपछि दैनिक रुखका हाँगा थप्दै जाने र असोज संक्रान्तिको साँझ घरघरबाट आगोको राँको निकालेर एकैसाथ बुढी जलाउने परम्परा छ।
बुढी जलाएपछि त्यही स्थानमा काँक्रो खाँदै ‘लुतो फाल्ने’ चलनसमेत रहेको स्थानीय बताउँछन्। काँक्रो चपाएर जलेको बुढीमा फाल्दै ‘थुई बुढी थुई’ भन्ने गरिन्छ। बुढी जलेपछि बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने प्रचलनसमेत केही ठाउँमा कायमै रहेको बताइन्छ।
पुतनाको स्वरूपमा तयार पारिएको बाबियोलाई बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइन्छ। साँझपख त्यसलाई दोबाटोमा लगेर जलाउने र त्यसपछि रातभर देउडा खेल्ने परम्परासमेत रहेको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन्।
तर पछिल्ला वर्षमा बुढी पोल्ने पर्वका मौलिक गतिविधि र सामूहिक सहभागिता घट्दै गएको स्थानीयको अनुभव छ। पहिले गाउँका मानिस एकै ठाउँमा भेला भएर पर्व मनाउने गरे पनि आधुनिक जीवनशैली र पुस्तान्तरणसँगै कतिपय परम्परा हराउँदै गएको उनीहरू बताउँछन्।
सामूहिक रूपमा मनाइने बुढी पोल्ने पर्वले सुदूरपश्चिमको मौलिक संस्कृति, लोकविश्वास र सामाजिक एकताको परम्परालाई समेत प्रतिबिम्बित गर्ने गरेको छ।








