मकै जोगाउन खेतमै टहरा बनाएर पहरा
बैतडी, साउन २० गते । सुदूरपश्चिमका प्रमुख मकै उत्पादन जिल्लामध्ये एक बैतडीमा यस वर्ष पनि किसानहरू जंगली जनावरको आतंकका कारण रातभर खेतमै जाग्राम बस्न बाध्य भएका छन् । दिनको समयमा बाँदर र रातिको समयमा जंगली बँदेल, दुम्सी, भालुलगायत वन्यजन्तुले मकैबाली नष्ट गर्न थालेपछि किसानको मेहनत जोखिममा परेको हो ।
मकै भित्र्याउने समय नजिकिँदै जाँदा जिल्लाका अधिकांश गाउँमा खेतबारीको सुरक्षा नै किसानका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । खेतमै टहरा निर्माण गरेर आलोपालो पहरा दिने परम्परा यस वर्ष पनि दोहोरिएको छ । किसानहरूका अनुसार एक रात पहरा नदिँदा पूरै बारी सखाप हुने अवस्था छ ।
पाटन नगरपालिका–१० का कृषक मदनराज भट्टले दिनभर बाँदर र राति बँदेल, भालु तथा दुम्सीको आक्रमणबाट मकै जोगाउन निकै कठिन भएको बताउनुभयो । “महिनौँको मेहनत केही घण्टामै नष्ट हुने अवस्था छ,” उहाँले भन्नुभयो ।
शैल्यशिखर नगरपालिका–४ गार्जुलाका कृषक शंकर भट्टका अनुसार जंगली बँदेलको बथानले मकै पाक्न थालेपछि बालीमा बढी क्षति पुर्याउने गरेको छ । त्यसैले गाउँभरिका किसानले आलोपालो खेतमा पहरा दिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “एक दिन पनि पहरा छुट्यो भने बारी रित्तिन बेर लाग्दैन,” उहाँले भन्नुभयो ।
दशरथचन्द नगरपालिका–९ का प्रकाश जोशीका अनुसार रातभर टहरामा बसेर पहरा दिँदा पनि मकै जोगाउन सहज छैन । वर्षायाममा पानी, जुकाको समस्या र अँध्यारो रातमा हुने जोखिमबीच किसानले बाली जोगाउन संघर्ष गरिरहेका छन् ।
सुर्नया गाउँपालिका–८ का मानबहादुर बोहराले पहिले रातिमा मात्रै देखिने जंगली बँदेल अहिले दिउँसै खेतबारीमा पस्न थालेको बताउनुभयो । “दिनमा बाँदर र अहिले बँदेलसमेत दिउँसै आउन थालेपछि मकै खेती गर्न झन् कठिन भएको छ,” उहाँले भन्नुभयो ।
तल्लोसोराड, च्वाँगढ, पुर्चौंडी, पाटन, सुर्नया, दोगडाकेदारलगायत जिल्लाका अधिकांश क्षेत्रमा जंगली जनावरले मकैबालीमा व्यापक क्षति पुर्याइरहेको किसानहरूको गुनासो छ । उत्पादन लागत बढ्दै जाँदा बाली जोगाउन थप श्रम र समय खर्चिनुपरेकाले खेतीप्रति किसानको उत्साहसमेत घट्दै गएको उनीहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लामा करिब १३ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । तर जंगली जनावरको बढ्दो क्षति, मौसमजन्य समस्या र अन्य कारणले उत्पादनमा वर्षेनि ह्रास आउने गरेको कृषि प्राविधिकहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बाली बीमा गरेमा क्षतिपूर्ति पाउने व्यवस्था भए पनि किसानको सहभागिता न्यून रहेको जानकारी दिनुभयो । बाली बीमाको प्रिमियम सरकारले व्यहोर्ने व्यवस्था भए पनि यसको प्रभावकारी प्रचार–प्रसार हुन नसक्दा धेरै किसान अझै बीमाको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बाँदर, जंगली बँदेल, दुम्सी तथा अन्य वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएमा डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउने व्यवस्था छ । क्षति भएको ३५ दिनभित्र निवेदन दिएमा स्थलगत मूल्याङ्कन र सम्बन्धित निकायको सिफारिसका आधारमा राहत उपलब्ध गराइने प्रावधान रहेको उहाँले बताउनुभयो ।
यद्यपि, स्थानीय तहहरूले जंगली जनावर नियन्त्रण तथा दीर्घकालीन व्यवस्थापनका लागि प्रभावकारी नीति र कार्यक्रम अघि नबढाएको भन्दै किसानले गुनासो गरेका छन् । खेतीयोग्य जमिन बाँझिने क्रम रोक्न, किसानलाई खेतीमा टिकाइराख्न तथा खाद्य सुरक्षालाई मजबुत बनाउन वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ ।








