बैतडी, जेठ २९ गते । सुर्नया गाउँपालिकामा परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।
तालिममा पालिकाभरिका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
तालिममा परिवार नियोजन सेवा मातृ तथा शिशु स्वास्थ्य सुधार, महिला सशक्तीकरण, गरिबी न्यूनीकरण तथा दिगो विकासको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा थप लगानी आवश्यक रहेको विषयमा छलफल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो।
कार्यक्रममा परिवार नियोजनलाई केवल जन्मदर नियन्त्रणको माध्यम नभई प्रजनन स्वास्थ्यसम्बन्धी आधारभूत अधिकारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो।
साथै, प्रभावकारी परिवार नियोजन सेवाले अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन तथा मातृ मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्याउने विषयमा समेत सहभागीसँग अन्तरक्रिया गरिएको थियो।
तालिममा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा सेवाको प्रभावकारिता बढाउने विषयमा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ।












