बैतडी, वैशाख ६ गते । बैतडीका २० हजार बढी बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइने भएको छ ।
बैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका २० हजार ७१२ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य कार्यालय बैतडी सूचना अधिकारी बिपिन लेखकले बताउनुभयो ।
यससँगै १ वर्षदेखि ५ वर्षमुनिका १८ हजार १९५ बालबालिकालाई जुकाको औषधी र ६ महिनादेखि २३ महिनासम्म बालबालिकालाई ७ हजार ४५५ बालबालिकालाई बालभिटा पनि खुवाउने लक्ष्य रहेको लेखकले बताउनुभयो ।
बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाउनका लागि जिल्लाभरी ८ सय ३१ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालीत गरिएको सूचना अधिकारी लेखकले बताउनुभयो ।
गाउँघर क्लिनिक, खोप केन्द्र र स्वास्थ्य संस्थाहरुमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाइने स्वास्थ्य लेखकले बताउनुभयो ।
नजिकका गाउँघर क्लिनिक, खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा आफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ‘ए’, जुकाको औषधी र बालभिटा खुवाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
जिल्लाभरीका सबै स्वास्थ्य संस्थाहरुमा भिटामिन ‘ए’ क्याप्सुल, जुकाको औषधी र बालभीटा शुक्रबार नै पुर्याइसकिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।










