बैतडी, असोज ३ गते। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीका ८४ वडामध्ये ५७ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। बाँकी वडाको अधिवेशन पनि भोलिसम्म सम्पन्न गर्ने तयारी गरिएको कांग्रेस बैतडीले जनाएको छ।
अधिवेशनबाट सम्बन्धित वडाका सभापति, पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन्। यस्तै, क्षेत्रीय तहका पदाधिकारीसमेत चयन भएका छन्।
वडा तहको अधिवेशनलाई पार्टीको संगठन सुदृढीकरण र स्थानीय तहमा नेतृत्व विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। अधिवेशनबाट निर्वाचित नेतृत्वले संगठनलाई थप सुदृढ, एकताबद्ध र जनतासँग नजिक बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको कांग्रेसका नेताहरूले बताएका छन्।
अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र आपसी एकता, सहकार्य र भाइचाराको भावना बलियो बनाउँदै जनताको हितमा केन्द्रित भएर अघि बढ्नेमा जोड दिइएको छ।
बाँकी वडामा पनि अधिवेशन सम्पन्न भएपछि जिल्लाका सबै ८४ वडाको वडा अधिवेशन प्रक्रिया पूरा हुनेछ।










