काठमाडौं । बैतडीमा हुर्किएर विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी २५ वर्षीया युवा नेतृले नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश युवा महिला पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
विद्यार्थी जीवनदेखि नै संगठन र सामाजिक अभियानमा जोडिँदै आएकी उनले आफ्नो राजनीतिक यात्रा कुनै एउटा पद प्राप्त गर्ने उद्देश्यमा मात्र सीमित नभएको बताएकी छन्। आफ्नो पुस्ताको आवाजलाई जिम्मेवारीपूर्वक राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ।
पाटन बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको जिम्मेवारी सम्हाल्दा विद्यार्थीका समस्या नजिकबाट बुझ्ने अवसर पाएकी उनले नेपाल विद्यार्थी संघका विभिन्न कार्यक्रम तथा आन्दोलनमा सक्रिय रहँदा संगठन, संघर्ष र लोकतान्त्रिक मूल्यबारे सिक्ने अवसर प्राप्त भएको बताइन्।
त्यसैगरी, परिवार नियोजन संघमा केन्द्रीय सदस्य, यूथ कोअर्डिनेटर तथा कार्यसमिति सदस्यका रूपमा काम गर्दा युवासँग सम्बन्धित विषय तथा विभिन्न सामाजिक अभियानमा प्रत्यक्ष रूपमा काम गर्ने अनुभव प्राप्त गरेकी छन् ।
बैतडीमा नेपाली कांग्रेसका आन्दोलन तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदा दूरदराजका नागरिकको आवाज राष्ट्रिय तहमा प्रभावकारी रूपमा सुनाउन स्थानीय तहबाटै आएको नेतृत्व आवश्यक रहेको महसुस गरेको उनले बताएकी छन्।
२५ वर्षको उमेरमा प्राप्त अनुभव, सिकाइ र जिम्मेवारीलाई थप व्यापक भूमिकामा अघि बढाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि बैतडीबाट सुरु भएको राजनीतिक संघर्ष, सुदूरपश्चिमका युवा पुस्तासँग जोडिएको अनुभव र राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिताप्रतिको प्रतिबद्धताको निरन्तरताका रूपमा व्याख्या गरेकी छन्।
‘विद्यार्थी आन्दोलनबाट सिकेको नेतृत्व, सामाजिक सेवाबाट सिकेको संवेदना, संगठनबाट सिकेको जिम्मेवारी र बैतडीबाट पाएको संघर्ष गर्ने साहस’लाई आगामी राजनीतिक यात्राको आधार बनाउने उनको भनाइ छ।
उनले आफ्नो अभियानलाई ‘२५ वर्षको ऊर्जा, संघर्षको अनुभव र युवा महिला नेतृत्व’ भन्ने नारासहित अघि बढाएकी छन्।
उनको उम्मेदवारी नेपाली कांग्रेसभित्र युवा पुस्ता र महिलाको प्रतिनिधित्वलाई थप बलियो बनाउने प्रयासका रूपमा समेत हेरिएको छ।











