सुर्खेत, असोज ६ गते । कर्णाली प्रदेश सरकारले मानसिक रोग न्यूनीकरण प्राथमिकतामा राख्न थालेको छ । अघिल्ला वर्षमा अन्य कार्यक्रममा जोडेर मानसिक रोग शब्द मात्र राख्ने गरिएको थियो । यो वर्ष प्याकेजका रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
पछिल्लो समयमा कर्णाली प्रदेशमा मानसिक रोगीको सङ्ख्या बढ्दो छ । मानसिक रोगको बेलैमा उपचार नहुँदा आत्महत्यामा रूपान्तरण भएपछि प्रदेश सरकारले यसको रोकथामका लागि कार्यक्रम ल्याएको छ । मानसिक रोग रोकथामका लागि विभिन्न सचेतनाका कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मानसिक रोग, यसले पार्ने असर र समाधानका बारेमा प्याकेजका कार्यक्रम राखिएको मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर योजना कार्यान्वयन गर्न लागेको हो । योग, ध्यान जीवनशैली परिवर्तन तथा मनोसामाजिक स्वास्थ्य प्रवर्धन प्याकेजका कार्यक्रम राखिएको जानकारी उहाँले दिनुभयो । कर्णालीमा आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा छैन । सामान्य स्वास्थ्य समस्यामा पनि नागरिकमा जनचेतनाको कमी र समयमै उपचार सेवा नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता पनि उस्तै छ तर पछिल्लो समय कर्णालीमा मानसिक स्वास्थ्य समस्या पनि एक गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा परेकाले प्रदेश सरकारले यसको न्यूनीकरणमा जोड दिएको छ ।
विभिन्न सङ्घ संस्थासँग मिलेर सचेतनाका कार्यक्रम कार्यान्वयन गर्ने गरी योजना अघि बढाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मानसिक रोगले समाजलाई थप समस्याग्रस्त बनाइरहेको भन्दै सामाजिक विकास मन्त्री जितबहादुर मल्लले यसको न्यूनीकरणका लागि विद्यालयदेखि कार्यालयसम्मका योजना कार्यान्वयन गरिने बताउनुभयो । मानसिक स्वास्थ्य समस्याको उपचार आमनागरिकको पहुँचमा पुग्ने गरी योजना कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
मानसिक रोगको उपचार सबैको पहुँचमा पुग्न सकेको छैन । कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई जना मनोरोग विशेषज्ञबाहेक अन्य कुनै पनि अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा पाइँदैन । भौगोलिक विकटता र आर्थिक समस्याका कारण सबै नागरिक प्रदेश अस्पताल पुगेर उपचार सेवा लिन सक्ने अवस्था नरहेको मनोपरामर्शदाता रविन थापाले बताउनुभयो । दिनप्रतिदिन मानसिक रोगका बिरामी बढ्दो क्रममा रहेको पाइएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेश अस्पतालमा हरेक दिन ४० देखि ५० जनासम्म मानसिक स्वास्थ्य समस्या भएका बिरामी आउने गरेका छन् । प्रदेश अस्पतालमा दिनप्रतिदन बिरामीको चाप बढ्दै गएको छ । मानसिक स्वास्थ्य चिकित्सक डा. सुशील समदर्शीले कर्णालीमा वयस्क र बालबालिकामा मानसिक स्वास्थ्यको समस्या बढ्दै जानु चिन्ताजनक भएको बताउनुभयो । उहाँले कर्णालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, जातीय विभेद, छाउपडी, लैङ्गिक हिंसा जस्ता समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको जानकारी दिनुभयो ।
गर्भवती तथा सुत्केरी महिलामा यस्तो समस्या देखिने गरेको छ । कर्णालीमा वयस्क जनसङ्ख्याको ११.७ प्रतिशतमा विभिन्न खालका मानसिक स्वास्थ्य समस्या देखिएको डा. समदर्शीको भनाइ छ ।










