काठमाडौं, असोज ४ गते । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ।
नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराउनुभयो। बैठकले सो वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको क्षेत्रमा कनेक्टिभिटी सुचारु गर्न विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलुङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।










