बैतडी, साउन १९ गते । दुई सय वर्ष पुरानो ऐतिहासिक शर्मालीगढी किल्ला संरक्षण नहुँदा यसको स्वरूप बिग्रँदै गएको छ । किल्लाको पुनर्निर्माण गर्न चार करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बने पनि बजेट नहुँदा योजनाको फाइल दराजमा थन्किएको हो ।
शिवनाथ गाउँपालिका–२, शर्मालीगढीमा रहेको किल्ला नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शर्मालीगढी किल्ला निर्माण भएको थियो । किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल, तरबार र पुराना तोप हराएका छन् । किल्लाभित्रको हतियार राख्ने कोत, घेरा पर्खाल जीर्ण बनेर भत्किसकेको छ । किल्लावरिपरि रहेको पानीको तलाउको निसानी मात्रै बाँकी रहेको छ ।
नेपाल–अङ्ग्रेजसँगको लडाइँमा अमरसिंह थापा लडाइँको मोर्चा समाल्ने कमान्डर हुनुहुन्थ्यो । उहाँकै नामबाट यो किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी किल्ला हुँदै तत्कालीन सेना नालापानी गएको स्थानीयको भनाइ छ ।
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्वका हिसाबले डडेलधुराको अमरगढी किल्ला र बैतडीको शर्मालीमा रहेको शर्मालीगढी किल्ला निकै महत्वपूर्ण रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार करोड रुपियाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर तीन वर्षअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “डिपिआरमा किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्लावरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न चार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।” गाउँपालिकाको बजेटले किल्ला पुनर्निर्माण गर्न नसक्ने भएकाले आवश्यक बजेटका लागि मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन बुझाए पनि बजेट प्राप्त नभएपछि फाइल दराजमा थन्किएको उहाँले गुनासो गर्नुभयो । समुद्री सतहबाट १,४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेलधुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
नेपाल एकीकरण मार्ग अन्तर्गत नेपाली सेनाको अगुवाइमा २६३ मिटर लामो पदमार्ग निर्माण गर्ने प्रयास गरेको भए पनि किल्लाको पुनर्निर्माणका लागि पर्याप्त बजेट नआएको गाउँपालिका अध्यक्ष साउदले दुःखेसो पोख्नुभयो ।
जीर्ण अवस्थामा रहेको शर्मालीगढी किल्लाका ढुङ्गा अहिले छरपस्ट अवस्थामा छन् । किल्लाभित्र रहेको कोतखाना भत्केपछि त्यहाँ अहिले गोठालो जाने बालबालिकाको खेल्ने ठाउँ बनेको छ । किल्लामा बाँकी रहेका केही ढाल र तरबार डडेलधुराको अमरगढी किल्लामा सारिए पनि केही तरबार अझै पनि गाउँमा हुन सक्ने स्थानीय बताउँछन् ।
चारैतिर रानीसल्लाको घना जङ्गलले घेरिएको यो किल्लामा पर्ने जङ्गलक्षेत्र अहिले अमरगढी सामुदायिक वन नामकरण गरिएको छ । ४९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।








