बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौट आजदेखि बैतडीमा सुरु भएको छ ।
बैतडीको दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा सुरु भएको प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभयो ।
यस्तै उद्घाटन समारोहमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट संघका विनोदबहादुर चन्द,सचिव सिद्धराज बोकटीलगायतको उपस्थिति रहेको थियो।
उद्घाटन समारोह पश्चात भएको पहिलो खेलमा बझाङले घरेलु टोली बैतडीमाथि ६ विकेटको जित निकाल्यो ।
बैतडीले दिएको ९६ रनको सामान्य लक्ष्य बझाङले १२ दशमलब ३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
जसमा महेन्द्र विष्टले अविजित ३९ र हिमाल दौल्यालले २४ रनको योगदान गरे ।
बलिङमा बैतडीका अमर चन्दले ३ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको बैतडी १५ ओभरमा ९५ रनमा समेटियो ।
बैतडीका अमर चन्दले सर्वाधिक २१ रन बनाए ।
बझाङका शुषिल रावल र सागर खड्काले ३÷३ विकेट झारे ।
शुषिल प्लेयर अफ द म्याच चुनिएका स्कोरर दीपेन्द बहादुर बोहराले जानकारी दिनुभयो ।
आजै सम्पन्न अर्को खेलमा डडेल्धुराले डोटीलाई ९ विकेटले पराजित गरेको छ ।
डोटीले दिएको १०९ रनको लक्ष्य डडेल्धुराले ८ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
जसमा प्लेयर अफ द म्याच समेत चुनिएका लोकेश चन्दले अविजित ४९ र यस कुमार कठायतले ३८ रनको पारी खेले ।
यसअघि पहिला ब्याटिङ गरेको डोटीले १५ ओभरमा ५ विकेटको क्षतिमा १०८ रन जोड्यो ।
उसका महेश देउवाले ३१ र मोहन भट्टले २८ रन हिर्काए ।
डडेल्धुराका किरन देउवाले २ विकेट चट्काए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा डडेल्धुरा,बैतडी,बझाङ र डोटी तथा समूह बी मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् ।
दुबै समूहका बिजेताबीच जेठ १४ गते उपाधि भिडन्त हुनेछ ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।











