केशवराज भट्ट बैतडी भदौ १६ गते ।सुदूरपश्चिमेलीको प्रमुख मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज घर–घरमा पाँच प्रकारका अन्न भिजाएर बिरुडा बनाइँदैछ ।
भाद्र कृष्ण पञ्चमीका दिन तामा वा पित्तलका भाँडामा गहुँ, गहत, मास, गुराउँस र केराउ भिजाएर बिरुडा राख्ने परम्परा रहेको पण्डित लवदेव भट्टले बताउनुभयो ।
उहाँका अनुसार बिरुडा भिजाएसँगै ब्रतालु महिलाले गौरा पर्वको विधिवत् सुरुवात गर्छन् ।
गौरा पर्वमा विवाहित महिलाले ब्रत बसेर भगवान् शिव र गौरीको पूजा–आराधना गर्ने तथा शिव–पार्वतीको गाथामा आधारित फाग गाउने चलन छ । पौराणिक मान्यताअनुसार पार्वतीले निराहार आराधना गरी भगवान् शिवलाई पतिको रूपमा प्राप्त गरेको स्मरणमा गौरा पर्व मनाउने परम्परा रहेको छ ।
पञ्चमीका दिन भिजाइएका बिरुडा षष्ठीका दिन धारा वा तलाउमा लगेर धुने र सप्तमीका दिन गौरालाई भित्र्याउने गरिन्छ । दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौराखलामा गौराको विशेष पूजा गरिन्छ । यस अवसरमा ठाडो खेल, ढुस्को, धमारी, चैतलगायतका परम्परागत खेल तथा सांस्कृतिक गतिविधि हुने गर्दछन् ।
यस वर्ष गौरा कृष्ण पक्षमा परेको छ । कृष्ण पक्षमा परेको गौरालाई ‘अँधेरी गौरा’ र शुक्ल पक्षमा परेको गौरालाई ‘उजेली गौरा’ भन्ने गरिन्छ ।
गौरा पर्व सुरु भएसँगै सुदूरपश्चिमका गाउँघरमा चहलपहल र रौनक बढेको छ । रोजगारी तथा अन्य कामका लागि घरबाहिर रहेका आफन्तसमेत घर फर्किन थालेपछि गाउँघरमा गौराको उल्लास थपिएको स्थानीय बताउँछन् ।








