spot_img

सुदूरपश्चिममा मौलिक ओल्के पर्व मनाइँदै

- Advertisement -

बैतडी, भदाै १ गते । भाद्र सङ्क्रान्तिका दिन सुदूरपश्चिममा मनाइने मौलिक ओल्के पर्वको रौनक बढेको छ । डोटेली संस्कृतिको पहिचानसँग जोडिएको यो पर्वमा मान्यजन, ज्येष्ठ नागरिक, इष्टमित्र तथा छरछिमेकीलाई सगुन तथा कोसेली दिएर शुभकामना, सम्मान र आत्मीयता साटासाट गर्ने गरिन्छ ।
ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूला मान्यजनलाई कर्कलाको भित्री पात (गाभा), सागपात, फलफूल, दूध, दही, घिउ तथा विभिन्न खाद्यवस्तु दिएर सम्मान गर्ने परम्परा यस पर्वको मुख्य विशेषता हो । आफूसँग जे उपलब्ध छ, त्यही उपहारका रूपमा दिने चलन रहेकाले ओल्केमा कुनै निश्चित खाद्यवस्तु नै दिनुपर्छ भन्ने मान्यता छैन ।

प्रियजनलाई कोसेली पठाउने परम्परा

ओल्के पर्वको सुरुआतलाई सुदूरपश्चिमका दुर्गम पहाडी बस्तीको पुरानो जीवनशैलीसँग जोडेर हेर्ने गरिन्छ । विगतमा असार र साउनको लगातारको वर्षा, बाढीपहिरो तथा भौगोलिक विकटताका कारण पहाडी कुइनेटा र खोँचमा बस्ने मानिसबीच लामो समयसम्म सम्पर्क टुट्ने अवस्था हुन्थ्यो ।
त्यस समयमा खेतीपातीको चटारो पनि उत्तिकै हुन्थ्यो । मकै, कोदो र पछि धान लगाउने तथा गोडमेल गर्ने काममा मानिस व्यस्त रहन्थे । वर्षायाम सकिएपछि सम्पर्कमा आउने आफ्ना प्रियजन, मान्यजन वा आफन्तलाई उपहारस्वरूप खाद्यवस्तु पठाउने परम्परा विकास भएको मानिन्छ । यही कोसेलीलाई ‘ओल्को’ भनिन थालिएको संस्कृतिविद्हरूको भनाइ छ ।

ओल्के पर्वको अवसरमा स्थानीयस्तरमा निर्मित सिन्का बाडदै स्थानीय । फाइल फोटो
ओल्के पर्वको अवसरमा स्थानीयस्तरमा निर्मित सिन्का बाडदै स्थानीय । फाइल फोटो

ओल्को मानिसलाई मात्र नभई देवता र तत्कालीन राजालाई समेत दिने गरिन्थ्यो । देवतालाई संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै र राजालाई भूमि तथा संरक्षणका लागि ओल्को दिने परम्परा रहेको बताइन्छ । भदौ लागेसँगै खेतीपातीको मुख्य काम सकिने भएकाले गाउँघरमा चाडपर्वको वातावरण सुरु हुने गर्दछ । मकैबारीमा मकै र काँक्रो टिप्ने समय पनि यही हो । त्यसैले वर्षायामपछि सुरु हुने उत्सवमय समयको सुरुआतका रूपमा समेत ओल्केलाई लिने गरिन्छ । ओल्के पर्वका लागि अघिल्लो दिनदेखि नै घरघरमा विभिन्न परिकार बनाउने तयारी हुन्छ । रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका परिवारका सदस्यसमेत पर्व मनाउन फर्कने भएकाले गाउँघरमा छुट्टै रौनक देखिन्छ ।

ओल्केका अवसरमा विवाहिता छोरीलाई माइतीघरमा बोलाएर सेलरोटी, पुरी, बावर, माणा, निसौसे, गतानी डुब्कालगायत स्थानीय परिकार खुवाउने चलन छ । माइती आएका छोरी–ज्वाइँलाई मीठा परिकारसँगै आफ्नो क्षमता र गच्छेअनुसार दानदक्षिणा दिएर स्वागत गर्ने परम्परा रहेको पाटन नगरपालिका–८ की हरिना देवी भट्टले बताउनुभयो ।

“ओल्केमा छोरी चेलीलाई माइतीघरमा बोलाएर सम्मानपूर्वक खानपिन गराउने र सक्दो दक्षिणा दिने चलन छ” उहाँले भन्नुभयो । ओल्के पर्वमा ठूला मान्यजनलाई सम्मान र सानालाई माया गर्ने सामाजिक संस्कारलाई विशेष महत्व दिइन्छ । यसले परिवार, आफन्त र छरछिमेकीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने स्थानीयको भनाइ छ ।

देवतादेखि औजारसम्म ओल्को

सुदूरपश्चिममा उत्पादनको पहिलो अंश देवतालाई चढाउने परम्परा पनि छ । अन्नको पहिलो उत्पादन देवतालाई चढाउने कार्यलाई ‘न्वागी’ भनिन्छ भने फलफूल, सागपातलगायत उत्पादन ओल्केका रूपमा देवतालाई चढाउने गरिन्छ । मन्दिरबाट सुरु गरिएको ओल्को दिने परम्परा आफन्त तथा सम्बन्धित परिवारका घरघरमा पुग्ने गर्दछ । भदौ १ गते बिहानै उठेर नुहाइधुवाइ गर्ने, विभिन्न परिकार बनाउने र सामूहिक रूपमा खाने चलन पनि छ ।

ओल्केको अवसरमा स्थानीयले अन्नको पहिलो उत्पादनको अशं देवतालाई चढाएको । फाइल फोटो
ओल्केको अवसरमा स्थानीयले अन्नको पहिलो उत्पादनको अशं देवतालाई चढाएको । फाइल फोटो

यस दिन आफ्नो पेसासँग सम्बन्धित सामग्री तथा औजारसमेत आफन्तलाई उपहारका रूपमा दिने परम्परा रहेको स्थानीय बताउँछन् । सिन्का, पात, चिम्टा, चुलेसीलगायत सामग्री ओल्कोका रूपमा दिने चलन कतिपय स्थानमा अझै कायम छ । ओल्के पर्वलाई सुदूरपश्चिमवासीले मौलिक तथा जेठो पर्वका रूपमा लिन्छन् । यसलाई ‘सिंह सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । भदौसँगै गौरा, कृष्णजन्माष्टमी, रक्षाबन्धन, हरितालिका तिजलगायत पर्वसमेत क्रमशः आउने भएकाले भदौलाई पर्वैपर्वको महिना मानिन्छ ।

‘लुतो फाल्ने’ विश्वास

ओल्के पर्वसँग शरीर र स्वास्थ्यसँग जोडिएका जनविश्वास पनि छन् । भँगेरी प्रजातिको फूलको पात पिसेर बनाइएको लेदोले हत्केला तथा खुट्टाका औँला रङ्गाउने चलन कतिपय ठाउँमा अझै छ । वर्षायाममा खेतबारीमा काम गर्दा हातखुट्टामा देखिने छालासम्बन्धी समस्या तथा फोहोरबाट बच्ने जनविश्वाससँग यो परम्परा जोडिएको छ । वर्षाले धुलो, धुवाँ र फोहोर पखालेर वातावरण सफा गर्ने तथा पानीका मुहानसमेत फुट्ने भएकाले वर्षायामपछि शरीरलाई पनि सफा राख्नुपर्ने सांस्कृतिक मान्यतासँग ‘लुतो फाल्ने’ परम्परा जोडिएको बताइन्छ ।

ओल्के पर्वसँग ‘सतरती’ अर्थात् सात दिन सात रातसम्म पानी पर्ने जनविश्वाससमेत जोडिएको छ । खहरे खोला ठूला नदीलाई र नदी समुद्रलाई ओल्को दिन जाने प्रतीकात्मक मान्यता रहेको स्थानीय बताउँछन् । यस अवधिमा आकाशमा तारा देखिएमा वा वनमा चर्न गएको भैँसीको सिङ ओभानो देखिएमा अनिकाल पर्न सक्ने विश्वाससमेत कतिपय समुदायमा पाइन्छ ।

‘बुडी’सँग जोडिएको अर्को परम्परा

ओल्के पर्वको अर्को महत्वपूर्ण पक्ष ‘बुडी’ सँग जोडिएको परम्परा हो । स्थानीय गोठालाले साना रुख काटेर दोबाटो वा गाउँनजिकै अग्लो स्थानमा ‘बुडी’ गाड्ने र पछि असोज सङ्क्रान्तिका दिन काँडादार घाँसबाट बनाइएको राक्षसी आकृतिको पुतना जलाउने चलन कतिपय स्थानमा रहेको दोगडा केदार ७ सह देव भट्टले बताउनुभयो । ओल्के सङ्क्रान्तिका दिन गाउँले मिलेर रुखका हाँगाबिँगा, झ्याङलगायत सामग्री जम्मा गरी थुप्रो बनाउने उहाँले बताउनुभयो । यसलाई स्थानीय भाषामा ‘बुडी हालेको’ भनिन्छ ।

स्थानीय गोठालाले साना रुख काटेर गाउँनजिकै अग्लो स्थानमा ‘बुडी’ गाडेको आकृति । फाइल फोटो

द्वापरयुगमा भगवान् कृष्णको अगुवाइमा ग्वालाहरूले पुतनालाई बाँधेको घटनाको सम्झनामा बुडी बाँध्ने गरिएको जनविश्वास छ । असोज सङ्क्रान्तिको साँझ घरघरबाट आगोको राँको लिएर बाबियो तथा विभिन्न रङ्गीचङ्गी फूल र पातले सिँगारिएको बुडी भएको स्थानमा पुग्ने र सामूहिक रूपमा त्यसलाई जलाउने परम्परा छ । ‘गाईबाच्छी पाल, बुडी निकाल’ भन्दै हर्षोल्लासका साथ बुडी पोल्ने गरिन्छ । बुडी पोलेपछि विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने तथा त्यसबाट निस्किएको धुवाँ जतातिर जान्छ, त्यतातिरको अन्नबाली राम्रो हुने जनविश्वास रहेको भट्टले बताउनुभयो । बुडी पोल्दा पानी नपरे बुडीको र पानी परे गाईको जित हुने विश्वाससमेत कतिपय स्थानमा पाइन्छ ।
नयाँ पुस्तामा घट्दै आकर्षण

ओल्के पर्व सुदूरपश्चिमको सामाजिक जीवन, कृषि संस्कृति, धार्मिक विश्वास र पारिवारिक सम्बन्धसँग गहिरोसँग जोडिएको भए पनि पछिल्लो समय नयाँ पुस्तामा यसको आकर्षण घट्दै गएको स्थानीयको अनुभव छ । मेलौली नगरपालिकाका वीरेन्द्र नायकका अनुसार आधुनिक जीवनशैली र बसाइँसराइका कारण नयाँ पुस्ताले मौलिक चाडपर्वका परम्परा तथा त्यसको सांस्कृतिक महत्वबारे पर्याप्त चासो दिन सकेको छैन । “मौलिक पर्वको महत्व र यससँग जोडिएका परम्परा नयाँ पुस्तासम्म पुग्न नसके ओल्केजस्ता सांस्कृतिक पर्वको मौलिकता क्रमशः हराउँदै जाने जोखिम छ,” उहाँले बताउनुभयो ।

सुदूरपश्चिमका मौलिक चाडपर्वले यहाँको कला, संस्कृति, रहनसहन, कृषि प्रणाली तथा सामाजिक सम्बन्धलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन् । ओल्के पनि केवल उपहार आदानप्रदान गर्ने पर्व नभई वर्षायामपछि सुरु हुने चाडपर्वको सुरुआत, मान्यजनप्रतिको सम्मान, आफन्तबीचको आत्मीयता, कृषि जीवन र प्रकृतिप्रतिको कृतज्ञताको सामूहिक अभिव्यक्ति हो ।

त्यसैले बदलिँदो जीवनशैलीसँगै ओल्केका मौलिक परम्परा र सांस्कृतिक पक्षलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको इतिहास, महत्व र अभ्यास हस्तान्तरण गर्नुपर्ने आवश्यकता स्थानीयको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img