बैतडी — बैतडीको सिगास गाउँपालिका–६ र ७ को सीमाना हुँदै बग्ने न्वाघरी गाड खोलामा पक्की पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। वर्षायाममा खोलामा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण हुने गरेको स्थानीयले बताएका छन्।
पुलको अभावमा दैनिक विद्यालय जाने विद्यार्थी तथा शिक्षक बढी प्रभावित हुने गरेका छन्। पानीको बहाव बढेका बेला विद्यार्थीले जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था रहेको सिगास–६ का वडाध्यक्ष तेजबहादुर साउदले बताउनुभयो।
स्थानीय सरकारको पहलमा केही वर्षअघि न्वाघरी गाडमा दुई वटा आरसिसी पुल निर्माण गरिएका थिए। पुल बनेपछि आवतजावतमा सहजता भए पनि बाढीले ती पुल बगाएपछि समस्या पुनः बल्झिएको वडाध्यक्ष साउदले बताउनुभयो।
पुल बगाएपछि वर्षायाममा स्थानीयवासी खोला तरेर वारपार गर्न बाध्य छन्। पानीको बहाव बढेका बेला विद्यार्थी, शिक्षक, वृद्धवृद्धा तथा सर्वसाधारणलाई खोला पार गर्न कठिन हुने गरेको छ।
न्वाघरी गाड हुँदै सिगास क्षेत्रका बासिन्दा स्थानीय बजार मोरीबगर तथा बझाङको मुख्य बजार देउरासम्म आवतजावत गर्ने गरेका छन्। यसैगरी, गणेश माध्यमिक विद्यालय लेकममा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षकले समेत यही बाटो प्रयोग गर्दै आएका सिगास–७ का वडाध्यक्ष कर्णबहादुर साउदले बताउनुभयो।
पुल निर्माणका लागि सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदै माग राखिए पनि हालसम्म सम्बोधन नभएको स्थानीयको गुनासो छ। वर्षायाम सुरु भएसँगै हरेक वर्ष समस्या दोहोरिने भएकाले दीर्घकालीन समाधानका लागि न्वाघरी गाडमा पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ।
पुल निर्माण भए सिगास गाउँपालिका–६ र ७ का बासिन्दाका साथै विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहज हुने स्थानीयको भनाइ छ। वर्षायाममा हुने जोखिम अन्त्य गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायले प्राथमिकताका साथ पुल निर्माण अघि बढाउनुपर्ने उनीहरूले बताएका छन्।








