बैतडी, साउन २४ गते । जिल्ला निर्वाचन कार्यालय बैतडीले मतदाता नामावलीमा रहेका व्यक्तिगत विवरणमा त्रुटि भए सच्याउन तथा आवश्यक विवरण अध्यावधिक गर्न सम्बन्धित मतदातालाई आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममिति, लिङ्ग, नागरिकता विवरण तथा मतदानस्थललगायतका विवरणमा त्रुटि भए सच्याउन सकिने जनाएको हो। दोहोरो नाम हटाउनुपर्ने वा बसाइँसराइका कारण मतदाता नामावली सार्नुपर्ने भए आवश्यक प्रमाण कागजातसहित आवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।
कार्यालयका अनुसार मतदाता नामावली अध्यावधिकका लागि निर्वाचन आयोगको अनलाइन प्रणालीमार्फत आवश्यक विवरण भरी सम्बन्धित प्रमाण कागजात संलग्न गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, बसाइँसराइ वा विवाहका कारण मतदाता नामावली सार्नुपर्ने मतदाताले स्थायी ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा बसाइँसराइ प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रसहित उपस्थित भई निवेदन दिन सक्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ।
मतदाता नामावली अध्यावधिकका लागि नेपाली नागरिकताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा सम्बन्धित विषय पुष्टि हुने अन्य आवश्यक प्रमाण कागजात पेश गर्नुपर्नेछ।
मतदाता नामावलीमा रहेका विवरणमा कुनै त्रुटि भए समयमै सच्याउन तथा आवश्यक विवरण अध्यावधिक गर्न मतदाताले आवेदन दिनुपर्ने सूचना अधिकारी दयालले बताउनुभयो।
जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले प्रत्येक मतदाताले आफ्नो मतदाता विवरण सही भए–नभएको यकिन गरी आवश्यक परे तोकिएको प्रक्रियामार्फत अध्यावधिक गर्न आग्रह गरिएको बताउनुभयो। उहाँले मतदाता विवरण सही र अद्यावधिक भए निर्वाचनसम्बन्धी सेवा प्राप्त गर्नसमेत सहज हुने भएकाले सम्बन्धित सबैलाई आवश्यक कागजातसहित समयमै आवेदन दिन अनुरोध गर्नुभयो।
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिकको कामलाई प्रभावकारी बनाउन मतदातालाई आफ्नो विवरण जाँच गरी त्रुटि भए सच्याउन तथा बसाइँसराइ वा विवाहलगायतका कारण विवरण परिवर्तन गर्नुपर्ने भए आवश्यक प्रमाणसहित सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको छ।








