खलङ्गा (दार्चुला), साउन १२ गते । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमामा पर्ने गाडखोलामाथि निर्माण गरिएको काठको पुल भाँचिँदा पुलमार्फत खोला तर्दै गरेका मालिकार्जुन–८ का स्थानीय अन्दाजी ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको सोही गाउँपालिकाका उपाध्यक्ष कल्याणसिंह धामीले जानकारी दिनुभयो ।
स्थानीय बजार मेलखेतबाट घर फर्कने क्रममा सोमबार साँझ आरबाटा भन्ने स्थानमा गाडखोला तर्दै गर्दा पुल भाँचिएको अनुमान गरिएको उपाध्यक्ष धामीले बताउनुभयो ।
राति अबेरसम्म धनसिंह घर नफर्किएपछि खोजी गरिएको र मङ्गलबार बिहान पुलभन्दा करिब ३०० मिटर तल खोलामा उहाँको शव फेला परेको उपाध्यक्ष धामीले जानकारी दिनुभयो । स्थानीयले खोलाबाट शव निकालेका छन् ।
खोला तर्ने क्रममा भाँचिएको उक्त काठको पुल गत वर्ष मात्रै निर्माण गरिएको उहाँले बताउनुभयो ।
घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको र प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो ।











