बैतडी , असार ३१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीमा युवा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले बैतडीमा नेपाल महिला संघले ‘जरा अभियान’ अन्तर्गत छलफल कार्यक्रम आयोजना गरेको छ।
३५ वर्षमुनिका युवा महिलालाई नयाँ क्रियाशील सदस्यता वितरण गरी पार्टीको आधार तह सुदृढ बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको हो। अभियानमार्फत वडा तहदेखि नै युवा महिलालाई कांग्रेससँग जोड्ने र नेतृत्व विकासमा प्रोत्साहित गर्ने विषयमा छलफल गरिएको बताइएको छ।
नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य राजु भट्ट जोशी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा महिला संघ बैतडीकी अध्यक्ष देवु ठगुन्ना, तुलसी ठगुन्ना, मीना चन्द, सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहरा, भागरथी भट्टलगायतको सहभागिता रहेको थियो।
यस्तै नेपाली कांग्रेस बैतडीका सहसचिव दीपेन्द्र चन्द, नेपाली कांग्रेस डडेल्धुराका क्षेत्रीय सभापति कैलाशकुमार पाण्डेय, दलित संघ डडेल्धुराका अध्यक्ष शिव सोब तथा महिला नेतृ रत्ना कार्कीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा उपसभापति बिष्टले कांग्रेसमा युवा महिलाको सक्रिय सहभागिता बढाउन जिल्लाभरका सबै तहमा ‘जरा अभियान’ अन्तर्गत छलफल र अन्तरक्रिया सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवा महिलालाई पार्टीमा आबद्ध हुन आग्रह गर्नुभयो।
प्रमुख अतिथि राजु भट्ट जोशीले ‘जरा अभियान’लाई वडा तहसम्म विस्तार गर्दै युवा महिलालाई पार्टीको संगठन र नेतृत्वमा जोड्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
उहाँले नयाँ पुस्ताको सक्रिय सहभागिताले पार्टी संगठन थप सशक्त बन्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।










