बैतडी। कार्तिक २४ – पञ्चेश्वर गाउँपालिका–४ आमचोरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा कार्तिक २४ र २५ गते धुरा मेला लाग्ने भएको छ।
मेला व्यवस्थापन समितिका अनुसार आवश्यक तयारी पूरा भइसकेको बताएको छ।
स्थानीयहरूको भनाइअनुसार, हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा यो मेला लाग्ने परम्परा रहँदै आएको छ। मेला अवधिमा नेपालका विभिन्न स्थान र सीमावर्ती भारतका भक्तजन दर्शनतथा पूजाका लागि आउने गर्छन्।
धार्मिक रूपमा यो स्थल शक्ति र आस्थाको प्रतीक धाम मानिन्छ। जनविश्वास अनुसार यहाँ दर्शन गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ।
जिल्लाका अन्य शक्तिपीठहरूमा जहाँ जात्रा कार्तिक शुक्ल पक्षमा लाग्छ, कैलपाल धुरा मेला भने कृष्ण पक्षमा लाग्ने विशेष परम्परा रहेको छ।










