केशव भट्ट,वाशुलिङ्ग ,बैतडी, चैत १६ गते।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवका अवसरमा नं. ५१ गुल्म हे.क्वा. बैतडीले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
वार्षिकोत्सवलाई लक्षित गर्दै गुल्मले सीमावर्ती क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै मठ–मन्दिरहरूको सरसफाइसमेत गरेको हो ।
यस्ता किसिमका कार्यक्रममार्फत समुदायसँग सहकार्य गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले बताउनुभयो ।
यसैक्रममा जिल्ला अस्पताल बैतडी मा उपचाररत १५ जना बिरामीलाई फलफूल वितरण गरिएको र त्यस्तै, अनाथालय तथा छात्रावासमा रहेका बालबालिकालाई खाजा तथा फलफूल वितरण गरिएको उहाँले बताउनुभयो ।
सीमा अपराध तथा लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ग्यास सिलिन्डरबाट हुन सक्ने आगलागी नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गरी सर्वसाधारणलाई सचेतना प्रदान गरिएको थियो ।
यस्ता कार्यक्रममार्फत नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको सशस्त्र प्रहरी ५१ नं. गुल्म हे.क्वा. बैतडीले जनाएको छ ।






