‘‘ बत्ती बाल्ने महिनाका रूपमा लिइने श्रावणमा जाग्राम, भजनकीर्तन र पूजाआजाका लागि तीर्थस्थल पुग्दैछन भक्तजनहरु”
वासुलिङ बैतडी, साउन १ गते । श्रावण सुरु भएसँगै बैतडीका मन्दिरमा आस्थाका बत्ती बल्न थालेका छन् । बिहानैदेखि मन्दिरमा पुग्ने भक्तजन, साँझपख बल्ने दियो र रातभर गुञ्जिने भजनकीर्तनले बैतडीका धार्मिकस्थलमा छुट्टै रौनक थपिएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा श्रावण महिनालाई ‘बत्ती बाल्ने महिना’ का रूपमा लिने गरिन्छ । यस महिनामा देवीदेवताका मन्दिर तथा शक्तिपीठमा बत्ती बाल्ने, पूजाआजा गर्ने, भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ ।
“श्रावण सुरु भएपछि देवीदेवताका मन्दिरमा जाग्राम बस्ने र भजनकीर्तन गर्ने चलन छ,” दशरथचन्द नगरपालिका–१ का स्थानीय संस्कृतिका जानकार पण्डित धर्मानन्द भट्टले भन्नुभयो, “श्रावणलाई बत्ती बाल्ने महिनाका रूपमा लिइने भएकाले यस महिनाभरि मन्दिरमा विशेष पूजाआजा गरिन्छ ।
श्रावणलाई भगवान् शिवको प्रिय महिनाका रूपमा समेत लिइन्छ । यही धार्मिक विश्वासका कारण शिवालय तथा शक्तिपीठमा यस महिनामा भक्तजनको चहलपहल बढ्ने गरेको छ । मन्दिरमा पुगेर पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वासले टाढाटाढाबाट समेत भक्तजन तीर्थस्थल पुग्ने गरेका छन् ।
सुर्नया गाउँपालिका–३ का स्थानीय ज्योतिष लवदेव भट्टका अनुसार श्रावण महिनामा धार्मिक आस्था राख्नेहरू मन्दिरमा पुगेर बत्ती बाल्ने, पूजापाठ गर्ने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् ।

गाउँ फर्कन्छन आस्थाले : रोजगारी तथा अन्य कारणले जिल्ला बाहिर बसाइँ सरेकाहरू पनि श्रावणमा आफ्नो गाउँ फर्कने गरेका छन् । कुलदेवता, शक्तिपीठ र स्थानीय मन्दिरमा पूजाआजा गर्ने अवसरका रूपमा श्रावणलाई लिने गरिएकाले यस महिनामा गाउँघरमा समेत चहलपहल बढ्ने गरेको छ ।
रात परेपछि मन्दिरमा जाग्राम बस्ने, भजनकीर्तन गर्ने र बत्ती बाल्ने परम्परा बैतडीका गाउँगाउँमा अझै जीवित छ । स्थानीय चन्द्रसिंह ऐरका अनुसार श्रावण महिनाभरि मन्दिरमा हुने धार्मिक गतिविधिले स्थानीय संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको छ ।
रौलाकेदारदेखि सिगासधुरा सम्म : बैतडी धार्मिक दृष्टिले महत्वपूर्ण जिल्ला मानिन्छ । जिल्लामा एक दर्जनभन्दा बढी प्रसिद्ध तीर्थस्थल छन् । श्रावण महिनामा यी धार्मिकस्थलमा भक्तजनको चहलपहल उल्लेख्य रूपमा बढ्ने गर्दछ । सुर्नया गाउँपालिकास्थित रौलाकेदार धाममा श्रावण सुरु भएसँगै दर्शनार्थी पुग्न थालेका छन् । महिनाभरि नै यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिरका पुजारी विष्णुदत्तले बताउनुभयो ।
रौलाकेदारको दर्शन गरेमा मनोकामना पूरा हुने तथा बद्री–केदारको दर्शन गरेसरह फल प्राप्त हुने जनविश्वास छ । यही विश्वासले रौलाकेदारमा श्रावणभरि भक्तजनको आवागमन बढ्ने गरेको स्थानीय दिनेशप्रसाद भट्टले बताउनुभयो ।

सिगास गाउँपालिकामा रहेको सिगासधुरा धामलाई भगवान् शिवको बासस्थानका रूपमा लिइन्छ । श्रावण महिनामा यहाँ पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ । बैतडीका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती, उदयदेव, शिवनाथ, ग्वाल्लेक केदार, जगन्नाथ, ईश्वरी गंगाधाम, देवताल, दोगडाधाम, महारुद्रलगायतका धार्मिकस्थलमा पनि श्रावणमा भक्तजनको चहलपहल बढ्ने गरेको छ ।
सीमापारसम्म फैलिएको आस्था : दशरथचन्द नगरपालिकामा रहेको त्रिपुरासुन्दरी मन्दिर बैतडीमा मात्र सीमित धार्मिकस्थल होइन, भारतको कुमाउँ र गढवाल क्षेत्रमा समेत यसको धार्मिक महत्त्व रहेको स्थानीय बताउँछन् । मन्दिरमा लाग्ने धार्मिक मेला तथा पर्वमा सीमावर्ती भारतीय क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् ।
निङ्गलाशैनी भगवती, डिलाशैनी भगवती, मेलौली भगवती, सिगास केदार, खुम्ट भगवती, देउलाहाट र रौलाकेदारलगायतका मन्दिर पनि बैतडीका प्रमुख धार्मिकस्थलका रूपमा परिचित छन् ।
गुफासँग जोडिएको जनविश्वास : दशरथचन्द नगरपालिका क्षेत्रमा रहेका जगन्नाथ मन्दिर र ईश्वरी गंगाधामको धार्मिक सम्बन्ध पनि रोचक छ । स्थानीय जनविश्वासअनुसार जगन्नाथ मन्दिरको गुफाबाट पठाइएको दूध वा धुवाँ ईश्वरी गंगाधामको गुफाबाट निस्कने गर्दछ । यस्तै सुर्नया गाउँपालिकामा रहेको पत्ताभुमेश्वर र वासुलिङ मन्दिरको पनि सम्बन्ध अटुट रहेको मानिन्छ ।

जगन्नाथ मन्दिरमा दैनिक पूजा हुने गरेको छ भने औँसी, पूर्णिमा र सङ्क्रान्तिका दिन विशेष पूजाआजा गरिन्छ । चैत र असोजको नवरात्र तथा मङ्सिर पूर्णिमामा यहाँ विशेष पर्व तथा मेला लाग्ने गर्दछ । स्थानीयवासीले यस मेलालाई ‘जात’ भन्ने गरेका छन् ।
नदी किनारमा रहेको ईश्वरी गंगाधामलाई जगन्नाथ मन्दिरको मूल स्थानका रूपमा लिने गरिएको छ । पवित्र तीर्थस्थलका रूपमा परिचित यहाँ माघे सङ्क्रान्ति र वैशाख सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ ।
श्रावण महिनामा बैतडीका धार्मिकस्थलमा बल्ने बत्ती केवल धार्मिक अनुष्ठान मात्र होइन, पुस्तौँदेखि चल्दै आएको आस्था र परम्पराको निरन्तरता पनि हो । मन्दिरमा बल्ने दियो, रातभर गुञ्जिने भजन र दर्शनका लागि पुग्ने भक्तजनले बैतडीका तीर्थस्थलमा साउनको छुट्टै धार्मिक र सांस्कृतिक रौनक थप्ने गरेका छन् ।











