केशवराज भट्ट भदौ १५ गते । सुदूरपश्चिमेली समाजको पहिचान मानिने गौरा पर्व अन्तर्गत अठ्यावाली’ आज ‘ सुदूरपश्चिम लगायत बैतडीमा उत्साहका साथ मनाइदै छ।
हिजो गौराघरमा भित्र्याइएकी गौरालाई आज बिहानै महिलाहरूले गाउँका परम्परागत ‘गौरा खलामा’ लगेर पूजाआजा गर्ने चलन रही आएको छ।
पूजाआजामा बिरुडाको प्रयोग:गौराको पूजनमा बिरुडापञ्चमीका दिन भिजाइएका सात किसिमका अन्न–बिरुडाको प्रयोग गरिन्छ। सामान्यतया अन्य देवीदेवताको पूजामा अक्षता चढाउने परम्परा भए पनि गौरामा भने विशेषगरी बिरुडाले नै पूजा गर्ने चलन छ।
दशरथचन्द नगरपालिका–१ का धार्मिक अगुवा पण्डित धर्मानन्द भट्टका अनुसार, “गौरामा अक्षता होइन, बिरुडाको प्रयोग गर्नु नै यस पर्वको विशेषता हो।”
अठ्यावाली र धार्मिक कथा:आजको दिनलाई ‘अठ्यावाली’ भनिन्छ। यसमा दिनभरि महिलाहरूले गौरा–महेश्वरको उत्पत्ति, बाल्यकाल, विवाह र पारिवारिक जीवनका प्रसंग गाइन्छ। साथै देवी–देवता र ऋषिमुनिहरूको आगमनसम्बन्धी धार्मिक गाथा पनि महिलाहरूले सामूहिक रूपमा गाउने गर्छन्। पूजन सकिएपछि गौरामा चढाइएका फलफूललाई सहभागीबीच बाँड्ने परम्परा छ, जसलाई ‘फल फट्काउने’ भनिन्छ।
ब्रतालु महिलाले आजै नयाँ दुबधागो धारण गर्छन्। यसलाई परिवारको सुख–समृद्धि र सौभाग्यसँग जोडेर हेर्ने परम्परा छ। बैतडीको सुर्नया गाउँपालिका निवासी कौशिला भट्टका अनुसार, “गौरापर्वमा पुरानो दुबधागो फेरेर नयाँ धारण गर्दा परिवारलाई दीर्घायु र सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ।”
खेलकुद र सांस्कृतिक अभिव्यक्ति: गौराको अवसरमा धार्मिक विधिसँगै सांस्कृतिक कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गाउँ–घरमा परम्परागत ठाडो खेल, ढुस्को, धमारी जस्ता खेलहरू खेलिन्छन्। महिलाहरू सामूहिक रूपमा भेला भई देउडा गीत गाउने प्रचलन अझै जीवित छ। यी गतिविधिहरू केवल मनोरञ्जन मात्र नभई सामुदायिक एकता र संस्कृतिको संरक्षणका प्रतीक मानिन्छन्।
धार्मिक महत्व: पौराणिक मान्यताअनुसार, हिमालयकी पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पति स्वरूप प्राप्त गरेकी थिइन्। त्यसैले महिलाले यस पर्वमा सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने परम्परा छ। यो बर्षको गौरा शुक्ल पक्षमा परेको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ
सामाजिक सद्भावको पर्व: गौराले केवल धार्मिक आस्था मात्र होइन, सामाजिक र सांस्कृतिक पक्षलाई पनि जोडेको छ। यस अवसरमा टाढा–टाढा बस्ने परिवारका सदस्यहरू समेत घर फर्किने भएकाले गाउँमा पारिवारिक मिलन र भेटघाटको अवसर मिल्छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–७ का रामदत्त भट्टका अनुसार, “गौरासँगै गाउँघरमा रमाइलो वातावरण छाउँछ। बसाइसराई गरेर गएकाहरू पनि फर्किँदा पारिवारिक मिलन र सामाजिक सद्भाव बलियो बन्ने गरेको छ।”
धार्मिक अगुवा धर्मानन्द भट्ट भन्छन्, “सुदूरपश्चिममा गौरालाई केवल देवीको पूजा मात्र नभई सामाजिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक पहिचानको पर्वका रूपमा लिने गरिन्छ।”
ऐतिहासिक पृष्ठभूमि: गौरा पर्वको प्रारम्भ कहिल्यै स्पष्टसँग लेखिएको छैन। तर धार्मिक ग्रन्थ र लोककथाअनुसार, कृष्ण पक्ष वा शुक्ल पक्षको पञ्चमीबाट यो पर्व सुरु हुन्छ। यसलाई कतै ‘धुम्र गौरा’ त कतै ‘अँधेरी गौरा’ भनेर पनि चिनिन्छ। गौरापर्वलाई महिला केन्द्रित चाड मानिन्छ, जसमा महिलाले आफ्नो परिवारको दीर्घायु र सौभाग्यका लागि कठोर व्रत बस्छन्।
करिव पाँचदिन सम्म मनाइने, गौरा पर्वलाई गाउँका सबै मिलेर उपयुक्त दिन मिलाएर सामुहिक रुपमा विसर्जन गर्ने गरिन्छ ।










