केशवराज भट्ट बैतडी ,जेठ ११गते ।हरेक वर्ष दशैंतिहार मनाएर कामको खोजीमा भारततिर जाने सूर्नया गाउँपालिका ७ धनबहादुर महरा दुई वर्षदेखि गाउँमै हुनुहुन्छ । छ÷सात महिना भारतमा मजदुरी गरेर हुने कमाइ उहाँले अचेल घरमै बसेर गरिरहनुभएको छ । गाउँमा सडक सुविधा पुगेका कारण सहजै बिक्रि गनै पाउँदा घरछेउकै बारीमा सिजन अनुसारका तरकारी फलाएर उहाँले राम्रो आम्दानी गर्न थाल्नुभएको हो ।
‘गाउँबाट गाडी चल्न थालेपछि सडक किनारका बजारबाट व्यापारीले फोन गरेर तरकारी मगाउनुहुन्छ । हरेक बिहान तरकारी टिपेर गाडीमा पठाइदिने गरेको छु,’ उहाँले भन्नुभयो, ‘पहिला तरकारी फलाए पनि बोकेर बेच्न लैजान नसकेरै खेर जान्थ्यो । सडक बनेपछि खेतबारीमा उब्जेको बस्तु बेच्न समस्या छैन । धेरैजसो व्यापारी घरमै आउनुहुन्छ ।’ सिजन अनुसारका तरकारी फलाएर गत वर्षदेखि दुई लाख रुपिया हाराहारी कमाइ भइरहेको उहाँले बताउनुभयो ।
गाउँमा खुद्रा पसल चलाउनुभएका सूर्नया गाउँपालिका ६ मल्लाढोलेका टेकेन्द्र बोहराले पसलको सामान ल्याउन बाहिर जानु पर्दैन । दशरथचन्द राजमार्गको सतबाजबाट उहाँको बस्ती हुँदै छिमेकी पुर्चौडी नगरपालिकासम्म सडक पुगेपछि उहाँको आँगनमै थोक व्यापारीले सामान ल्याइदिनुहुन्छ । सडक बिस्तार सँगै नागरिकलाई आवागमनसँगै व्यापारीलाई पनि सजिलो गरिदिएको व्यापारी बोहराले बताउनुभयो । धनगढी, महेन्द्रनगर तथा सीमावर्ती बजार झुलाघाटबाट सामान बोकेर गाडीले आँगनमै ल्याइदिने गरेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले सूर्नया गाउँपालिका हुँदै पुर्चौडीका बस्तीलाई जोड्ने गरी काम गरिरहेको सतबाज–श्रीभावर–हाट–दार्चुला सडक आयोजनाले जिल्लाको मध्य भागमा पर्ने बस्तीका बासिन्दाको दैनिक नै बद्लिएको छ । उपचारका लागि होस् वा उपभोग्य बस्तु किन्न, दिनभर दुई दिन हिँड्ने समय र हजारौं रुपिया खर्च गरेर जिल्ला सदरमुकाम, डडेलधुरा, भारतीय बजार झुलाघाट, पिथौरागढ धाउने स्थानीयलाई यो सडकले समय र खर्च दुवै बचत गरिदिएको छ ।
मजदुरी समेत नपाएर कामको खोजीमा भारतसम्म पुग्ने कतिपय स्थानीयले गाउँमै कृषि, पशुपालनसँगै सानोतिनो व्यापार गरेर परिवार चलाइरहनुभएको छ । गर्भवती वा गम्भीर बिरामीलाई अस्पताल लैजान सतबाज, मुसे, श्रीभावर, पाटनसम्म डोको वा स्ट्रेचरमा बोकेर सडकमा पुर्याउन बाध्य स्थानीयलाई तीन÷चार वर्षयता सहज भएको छ । अचेल अधिकांश बस्तीबाट तीस मिनेटको दूरीमा गाडी चढ्न पाइने गरेको स्थानीय सामाजिक कार्यकर्ता तथा सूर्नया गाउँपालिका ५ का देवसिंह महरा बताउनुहुन्छ ।
‘नियमित गाडी चल्न थालेपछि सानोतिनो आम्दानीका लागि बाहिर जानु परेको छैन । खेतबारीमा मिहनेत गर्न सके बजारको समस्या छैन,’ उहाँले भन्नुभयो, ‘सिँचाइ सुविधा भएको धेरैजसो ठाउँका कृषक त बाह्रै महिना साग, तरकारी फलाएर व्यवसायिक बनिरहनुभएको छ ।’
प्रदेश सरकारले २०७५ चैत ११ मा सुदूरपश्चिमका नौ ओटै जिल्लामा एक÷एक प्रदेश गौरवको सडक बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आर्थिक वर्ष २०७६÷७७ बाट प्रदेश गौरवका सडक निर्माणको काम अगाडि बढाइएको हो । त्यसअघि सतबाज–श्रीभावर पर्यटन सडकका नाममा कछुवा गतिमा निर्माण भइरहेको यो सडकलाई पुर्चौडी हाट हुँदै दार्चुला जोड्ने गरी गौरवको आयोजनाका रुपमा अघि सारेको थियो ।
सतबाजदेखि दार्चुलासम्म यो सडक ८० किलोमिटर दूरीको छ । यसमध्ये६०किलोमिटरमा अहिले नियमित यातायात संचालन भइरहेको छ । सतबाजबाट श्रीभावरसम्मको ४० किलोमिटर मध्ये ६ किलोमिटर कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्षमा यो खण्डमा ४८ करोड ८२ लाख बजेट छ । त्यसबाट सडक स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ । श्रीभावर–हाट खण्डको २२ किलोमिटर मध्ये ११ किलोमिटर कालोपत्रेको भइसकेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धिरेन्द्र भट्टले बताउनुभयो । चालु आर्थिक वर्षमा यो खण्डका लागि २५ करोडमा ठेक्का लागेर कालोपत्रे गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
पुर्चौडी नगरपालिका ७ कोटिलाकी बागमती ऐरले सतबाज–श्रीभावर सडकले जिल्ला सदरमुकाम पुग्नकै लागि दुई दिन लाग्ने बाटो चार÷पाँच घण्टामा छोटिएको बताउनुभयो । ‘कच्ची सडक भए पनि चार÷पाँच वर्षयता धेरै सजिलो भएको छ । नूनतेल, चामल किन्न तीन÷चार घण्टा हिँडेर श्रीभावर बजार पुग्नुपथ्र्यो । अचेल त हरेक बस्तीमा सडकले छोएको छ, भारी बोकेर ल्याउनुपर्ने झन्झट छैन,’ उहाँ भन्नुहुन्छ, ‘सदरमुकाममा सानो काम परे कम्तीमा चार दिन समय छुट्याउनुपथ्र्यो, खर्च पनि उस्तै हुन्थ्यो । अहिले बिहानै गाडी बुक गरेर रातिसम्म काम भ्याएर फर्कने धेरै हुन्छन् ।’ यो सडक आसपास पछिल्लो समय बजार बढिरहेको छ ।
जग्गा बाँझो छाडेर तराइतिर जाने क्रम पनि केही कम भएको स्थानीय बताउँछन् । सडकको स्तरोन्नतिसँगै बाह्रै महिना नियमित गाडी चल्न थालेपछि सीमावर्ती भारतको झुलाघाट बजारसम्म पुगेर सस्तोमा उपभोग्य बस्तु ल्याउन धेरै सहज भएको सूर्नया गाउँपालिका ६ मोतीनगरका व्यापारी राजेन्द्र भट्टले बताउनुभयो ।










