केशव राज भट्ट,बाशुलिङ्ग / बैतडी, फागुन २८ गते । निजीस्रोतमा शिक्षक राखेर विद्यालय संचालन गर्न असहज भएपछि बैतडीका धेरैजसो विद्यालयले होली खेलेर खर्च संकलन गरिरहेका छन् ।
सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सातदिन होली खेल्ने चलन छ । होली र देउँसी भैलो खेलेर हरेक वर्ष ३÷४ रुपैयाँ संकलन गर्न सकेकाले निजी स्रोतका शिक्षकको तलब ब्यहोरिरहेको पाटन नगरपालिका ९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो । विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत संकलन गर्दैै आएका छ । यो विद्यालयले आफ्नै स्रोतमा छात्राबास पनि संचालन गरेको छ । निजीस्रोतका शिक्षक र छात्राबासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम संकलन गर्दै आइरहेको व्यवस्थापन समिति अध्यक्ष भाटले बताउनुभयो । ‘धेरै वर्षदेखि होली र भैली खेलेर उठेको पैसाले निजी स्रोतका शिक्षकलाई तलब भत्तादेखि शैक्षिक सामग्री किन्ने गरेका छौं,’ अध्यक्ष भाटले भन्नुभयो, ‘शिक्षक, अभिभावक, विद्यार्थी सबै मिलेर होली र भैलोबाट आर्थिक स्रोत संकलन गर्न पाउँदा केही सहज भइरहेको छ ।’ छिमेकी गाउँहरुमा होली खेल्दा यो वर्ष मंगलबारसम्म तीन लाख रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो ।
पाटन नगरपालिका–१० स्थित सरस्वती मावि सल्लेबासाले होली खेलेर २ लाखभन्दा बढी रुपैयाँ संकलन गरेको छ । होलीबाट संकलन भएको रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो ।
सशस्त्र द्वन्द्वकालयता कम भएको होली खेल्ने चलन दशकयता बिस्तारै फेरि बढ्न थालेको छ । बैतडीमा विगतका वर्ष भन्दा यस वर्ष होली खेल्नेको संख्यामा बृद्धि भएको पाइएको पाटन–१० का मदन लुहारले बताउनुभयो ।
बैतडीको सिद्धेश्वर मावि मेल्चौरा, जनता मावि आरुबाटा, सिगास माबि गुरुडा, केदार मावि कठमडा, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटनलगायतका विभिन्न शैक्षिक संस्थाले धुमधामका साथ होली खेलिरहेको पाटन नगरपालिका–८ का हरिदत्त भट्टले बताउनुभयो ।
होलीबाट संकलन भएको पैसाबाट केही रकम छुट्याएर होली कमिटिले वनभोज गरेर रमाइलो समेत गर्ने चलन रहेको भट्टले बताउनुभयो ।
होली समाप्त भएको दिनलाई यहाँ छरेली पूर्णिमा पनि भन्ने चलन छ । यो दिन बर्षेयाममा फल्ने लहरे बालीहरु फर्सी, लौका, घिरौला, काक्रालगायतका बिरुवा रोप्ने चलन समेत रहेको दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्टले बताउनुभयो ।
पाँच÷सात दिनसम्म मनाइने होली पर्वमा साथीभाइ तथा इष्टमित्र एक ठाउँमा जम्मा भएर रंगसँग खेल्दै रमाइलो गर्ने चलन रहेको मेलौली नगरपालिका–९का लोकराज भट्टले बताउनुभयो । सीमावर्ती भारतको उत्तराखण्ड क्षेत्रमा पनि यहाँको जस्तै गरेर होली खोल्ने चलन छ । आफन्तलाई बिभिन्न रंगको टीका लगाएर आफूभन्दा ठूलोको आशीर्वाद लिने गर्छन् भने बिभिन्न होली गीत गाउँदै नटुवालाई नचाउँदै घर जाने, मिठामिठा खानेकुरा खाने चलन छ । होली गाउँदा परापूर्वकालदेखिको धार्मिक, सांस्कृतिक इतिहासलाई छुट्टै गीतका माध्यमबाट गाउँदै खेल्ने गरिन्छ । तर, पछिल्लो समय स्थानीय कलाकारले होली लक्षित गरेर आधुनिक तथा राजनीतिक सामाजिक ब्यंग्यात्मक शैलीका गीत ल्याउन थालेका छन् । परम्परामा विस्तारै परिवर्तन आउन थालेपछि पुरानो संस्कृति हराउँदै गइरहेको दोगडाकेदार गाउँपालिका–७ का नन्दराज भट्टले बताउनुभयो ।
शिक्षकको तलब जुटाउन होली खेल्दै
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










