बैतडी, भदौ ९ गते । बैतडीको सुर्नया गाउँपालिका–८, रातापानीका बासिन्दालाई पानी पर्न थालेपछि ठुलो डर घरभित्र पस्ने पानीको हैन, घरमाथिबाट खस्ने पहिरोको हुन्छ । आकाशमा बादल मडारिन थालेसँगै उनीहरू सुरक्षित बास खोज्न छिमेकीको घरतिर लाग्नुपर्ने अवस्था छ ।
लगातारको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा छन् । घरमाथिको जमिन चर्किएको छ । खेतीयोग्य जमिन पहिरोले बगाउँदै लगेको छ । भान्सा र शौचालयमा समेत क्षति पुगेको छ । पहिरो कहिले कहाँबाट आउँछ भन्ने थाहा हुँदैन । वर्षा हुनासाथ घरभित्रै बस्ने कि छाडेर सुरक्षित स्थानमा जाने भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताउने गरेको स्थानीय भानबहादुर बोहोराले बताउनुभयो ।

पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायको टोली रातापानी पुगेको थियो ।
रातापानीका रामसिंह बोहोरा, धनुवा बोहोरा, मीना बोहोरा, गम्भीरसिंह बोहोरा, उदयसिंह बोहोरा, चक्र बोहोरा र कृष्ण बोहोराको घर उच्च जोखिममा छन् । जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित राख्न टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा बस्ती स्थानान्तरण गर्ने/नगर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
स्थानीयवासीका अनुसार रातापानीमा पछिल्लो पाँच वर्षदेखि निरन्तर पहिरो जाने गरेको छ । पटक पटक पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग माग गरे पनि समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ । “घरमाथिको सबै जमिन चर्किएको छ, खानेपानीको पनि समस्या छ, बालबालिकालाई विद्यालय जानसमेत बाटो छैन,” पहिरोको जोखिममा रहेका स्थानीय हर्क बोहोराले भन्नुभयो । पहिरोले घर मात्रै जोखिममा पारेको छैन, स्थानीयवासीको मुख्य जीविकाको आधार खेतीयोग्य जमिनसमेत बगाउँदै लगेको छ । स्थानीय बासिन्दाका अनुसार रातापानीमा पहिरोका कारण करिब ३५ देखि ४० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।
स्थानीय गम्भीर बोहोराका अनुसार पहिरोले उहाँको मात्रै करिब १५ रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पु-याएको छ ।
मकै लगाइएको जमिन पहिरोले बगाएपछि यस वर्षको उत्पादनसमेत गुमेको स्थानीयवासीको भनाइ छ । “मकै लगाएको खेत सबै पहिरोले बगायो, घर पनि जोखिममा छ र अब के हुने हो भन्ने चिन्ता बढेको छ,” स्थानीयवासीले दुःखेसो गरेका छन् । उनीहरूले तत्काल राहतसँगै दीर्घकालीन समाधानका रूपमा बस्ती नै सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन् ।









