बैतडी, साउन १२ गते। दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफ्नो सेवा–सुविधा बापत प्राप्त रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षामा सहयोग गर्नुभएको छ।
उपप्रमुख चन्दले नगरपालिकाभित्रका ११ जना विपन्न विद्यार्थीलाई जनही रु ५० हजारका दरले कुल रु ५ लाख ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको हो। सहयोग प्राप्त गर्ने विद्यार्थीमा यसोदा कोली, वीरेन्द्र चन्द, गोमती बडु, विपना भट्ट, मुकेश ओझा, मुकेश थापा, डम्बरसिंह थापा, विक्रम चुनारा, विनोद महर, हेमन्ती जोशी र लोकेन्द्रसिंह थापा रहेका छन्।
यसअघि गत वर्ष पनि उहाँले पाँच जना विपन्न विद्यार्थीलाई जनही रु ६० हजारका दरले आर्थिक सहयोग गर्नुभएको थियो। सहयोग प्राप्त गर्नेमा निशा दमाई, ज्योति थापा, सपना दमाई, रबिना थापा र दीपा रावल रहेका थिए।
विपन्न समुदायका प्राविधिक विषय अध्ययनरत विद्यार्थीलाई आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उपप्रमुख चन्दले बताउनुभयो। “राजनीति सेवाका लागि हुनुपर्छ। पदमा रहे पनि नरहे पनि सक्दो सहयोग गरिरहने मेरो प्रतिबद्धता छ”, उहाँले भन्नुभयो।
उहाँ निर्वाचित भएदेखि नै नगरपालिकाको कामकाजमा आफ्नै निजी सवारीसाधन प्रयोग गर्दै आउनुभएको छ ।










