असार १६ गते । बैतडीमा अत्यधिक वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते अत्यधिक वर्षा हुने पूर्वानुमान गरेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कच्ची सडकमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लासहित बैतडीमा मनसुन सक्रिय भएसँगै स्थानीय प्रशासन तथा सरोकारवालाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन्।
वर्षायाममा निरन्तर वा अत्यधिक वर्षा हुँदा पहिरो, सडक अवरोध, बाढी तथा नदी–खोलामा पानीको बहाव बढ्ने जोखिम रहने भएकाले अनावश्यक यात्रा नगर्न र यात्रा गर्नै परे मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र निस्कन सुझाव दिइएको छ।
ग्रामीण क्षेत्रमा कच्ची सडक चिप्लिने, पहिरो खस्ने तथा साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको सरोकारवालाको भनाइ छ। यस्तै, नदी किनार, भीरपाखा तथा पहिरोको उच्च जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारलाई थप सतर्क रहन आग्रह गरिएको छ।
स्वास्थ्यकर्मीहरूले वर्षायाममा दूषित पानीका कारण झाडापखाला, ज्वरो तथा अन्य सरुवा रोगको जोखिम पनि बढ्ने भएकाले उमालेर वा सुरक्षित पानी मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन तथा कुनै स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन्।
विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक तयारीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ। साथै, नागरिकलाई अफवाहभन्दा आधिकारिक सूचनालाई आधार मानी सुरक्षित व्यवहार अपनाउन आग्रह गरिएको छ।










