spot_img

हरियालीले ढाकिएका आलुका फाँट, किसानको जीवनमा समृद्धिको स्वाद

- Advertisement -

बैतडी : बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबारीमा फैलिएका आलुका फाँटले ग्रामीण भेगको सौन्दर्य मात्रै बढाएको छैन,यसले किसानको जीवनमा आशा र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ ।

पाटन नगरपालिका–८, ९ र १० नम्बर वडालाई जिल्लाकै प्रमुख आलु पकेट क्षेत्रका रूपमा चिनिन्छ । यहाँका अधिकांश किसान अहिले परम्परागत खेतीबाट व्यवसायिक कृषि प्रणालीतर्फ आकर्षित भएका छन् । आलुसँगै बेमौसमी तरकारी खेतीले किसानको आम्दानी बढाउँदै लगेपछि गाउँघरमै स्वरोजगारको वातावरण बनेको छ ।

स्थानीय किसानहरूका अनुसार केही वर्षअघिसम्म जीविकोपार्जनमै सीमित कृषि अहिले आम्दानीको मुख्य स्रोत बनेको छ । पाटन–८ का किसान केशव विष्टले आलु र बेमौसमी तरकारी खेतीबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउनुभयो । पहिले खेतीपातीले घरखर्च धान्न मुस्किल हुन्थ्यो, अहिले तरकारी र आलुले परिवारको आर्थिक अवस्था फेरिएको छ,उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँ बराबरको आलु बाहिरिने गरेको छ । यस वर्ष समय–समयमा परेको वर्षाका कारण उत्पादनमा विगतको तुलनामा करिब २० प्रतिशतसम्म वृद्धि हुनसक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

बैतडीको खोड्पे क्षेत्र आलु उत्पादनका लागि विशेष रूपमा परिचित मानिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा आलु राम्रो उत्पादन हुने गरेको कृषि प्राविधिक महेश पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार यहाँको हावापानी र माटो आलु खेतीका लागि उपयुक्त भएकाले किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न सहज भएको छ ।

यस क्षेत्रमा ‘शिद्धेश्वर बृहत् आलु क्षेत्र विस्तार कार्यक्रम’ सञ्चालन भएपछि किसानले व्यवसायिक रूपमा आलु तथा तरकारी खेती विस्तार गरेका छन् । उत्पादन बढेसँगै बजारको पहुँच पनि विस्तार हुँदै गएको छ । तर किसानले अझै केही आधारभूत समस्यासँग संघर्ष गरिरहेका छन् ।

विशेषगरी शीतभण्डार (कोल्डस्टोर) को अभाव यहाँका किसानको मुख्य समस्या बनेको छ । किसानहरूका अनुसार आलुको बीउ सुरक्षित राख्न डडेल्धुरासम्म लैजानुपर्ने बाध्यता रहेको छ । निर्माण गरिएका केही शीतभण्डारसमेत सञ्चालनमा आउन नसक्दा किसानले अपेक्षित लाभ लिन सकेका छैनन् ।

स्थानीय किसान नरबहादुर विष्टका अनुसार शीतभण्डार सञ्चालनमा आए मौसमी तरकारी भण्डारण गरेर बेमौसममा बिक्री गर्न सकिने थियो । अहिले बिक्री नभएका तरकारी राख्ने ठाउँ नहुँदा धेरै उत्पादन खेर जाने अवस्था छ, उहाँले भन्नुभयो ।

कृषिमा आधुनिकीकरण र व्यवसायिकता बढ्दै जाँदा बैतडीका ग्रामीण भेगमा आर्थिक गतिविधि पनि विस्तार हुन थालेका छन् । हरियालीले ढाकिएका आलुका फाँट अहिले किसानको मेहनत, सम्भावना र समृद्धिको प्रतीक बनेका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img