केशवराज भट्ट, वाशुलिङ्ग,बैतडी, चैत २१ गते ।
बैतडीको पाटन गाउँपालिका–४ बगाडिस्थित ऐतिहासिक शिवालय मन्दिर चन्दा सहयोगबाट पुनर्निर्माण गरिएको छ। जीर्ण अवस्थामा रहेको शिवलिङ्ग मन्दिरलाई देश तथा विदेशमा रहेका स्थानीयको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो ।
मन्दिर पुनर्निर्माणका लागि सङ्कलित करिब एक करोड रुपैयाँमध्ये झण्डै ८० लाख रुपैयाँ खर्च भइसकेको बैतडीका पूर्व जिल्ला समन्वय समिति प्रमुख शिद्धराज भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार विसं २०८० सालदेखि सुरु गरिएको पुनर्निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिएको हो ।
पुनर्निर्माण अभियानका क्रममा बगाडी क्षेत्रका हाल देश–विदेशमा रहेका स्थानीयवासी तथा अन्य श्रद्धालु भक्तजनबाट उल्लेख्य सहयोग प्राप्त भएको स्थानीय समाजसेवी जयबहादुर चन्दले बताउनुभयो ।
मन्दिर निर्माण अभियानमा सक्रिय युवा हरिशप्रसाद भट्टले चन्दा सङ्कलनमा सबैको उल्लेखनीय साथ रहेको उल्लेख गर्नुभयो।
करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसर सफा तथा आकर्षक स्थानमा रहेको छ। हालसम्म चन्दाबाटै आधुनिक शैलीको मन्दिर र शौचालय निर्माण सम्पन्न भइसकेको छ भने बाँकी आवश्यक संरचना निर्माणको तयारी भइरहेको जनाइएको छ ।
ऐतिहासिक महत्व बोकेको उक्त मन्दिरमा बाइसे–चौबिसे राज्यकालअघि देखि नै पूजाआजा हुँदै आएको स्थानीयवासी बताउँछन्। विशेषगरी चैत्र, साउन, असोज र पुस महिनामा यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी राष्ट्रियस्तरमा परिचित गराउने लक्ष्यसहित मन्दिर पुनर्निर्माण गरिएको पूर्व प्रमुख भट्टले बताउनुभयो। शान्त वातावरण र नियमित पूजाआजाका कारण धार्मिक आस्थावानका लागि यो स्थल उपयुक्त गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ ।










