केशवराज भट्ट, वाशुलिङ्ग बैतडी, चैत १८ गते ।
बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा केन्द्रहरूमा प्रश्नपत्र, उत्तरपुस्तिका लगायत आवश्यक सबै सामग्री समयमै पुर्याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो ।
परीक्षा सञ्चालनका लागि २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्ष, २ सय ३१ जना निरीक्षक र २६ जना कार्यालय सहयोगी परिचालन गरिएका छन् । त्यसैगरी, परीक्षालाई सुरक्षित र मर्यादित बनाउन ३ सय ९० जना सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।
जिल्लाका २६ वटा परीक्षा केन्द्रबाट कुल ४ हजार ५ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सहभागी हुने विद्यार्थी १ सय ४२ वटा माध्यमिक विद्यालयबाट रहेका छन् ।
सहभागीमध्ये ३ हजार ९ सय २१ जना नियमिततर्फ र ६ सय ३१ जना ग्रेडवृद्धितर्फ रहेका छन् ।
परीक्षालाई शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न केन्द्राध्यक्षहरूलाई आवश्यक निर्देशन दिइएको इकाईले जनाएको छ ।
परीक्षाको क्रममा कुनै पनि अमर्यादित गतिविधि गरेको पाइएमा कडा कारबाही गरिने इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।
माध्यमिक शिक्षा परीक्षा चैत १९ गतेदेखि सञ्चालन भई चैत २९ गते सम्पन्न हुने जनाइएको छ ।





