केशव भट्ट, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।
जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढगाउँ मोडमा दुर्घटना भएको हो। पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जनाको कोटिला स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताउनुभयो। दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको छ भने स्थानीयवासीहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्।
घाइतेमध्ये १५ जनालाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको र ठूलो मानवीय क्षति भएको डीएसपी रायले जानकारी दिनुभयो।
बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ। उद्धारमा खटिएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवरका अनुसार रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
गम्भीर घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो। हाल घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ।










