केशव भट्ट,बैतडी, चैत २२ गते ।
परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै धमाधम भइरहेको छ ।
परीक्षा सम्पन्न भएकै दिन केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरका परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशनअनुसार जिल्लाका २६ वटै केन्द्रमा परीक्षण कार्य सञ्चालनमा छ । अधिकांश केन्द्रहरूले परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरिरहेका छन् ।
उत्तरपुस्तिका परीक्षणका लागि सम्बन्धित केन्द्राध्यक्षले विषयगत शिक्षक खटाउने व्यवस्था गरिएको छ । परीक्षण कार्यमा निष्पक्षता कायम गर्न फरक विद्यालयका शिक्षकले मात्र उत्तरपुस्तिका जाँच गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।
परीक्षण गरिएका उत्तरपुस्तिका सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाइने र त्यहाँबाट परीक्षा नियन्त्रण कार्यालय मा पठाइने व्यवस्था रहेको इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । परीक्षार्थीको नतिजा प्रविष्ट गर्ने काम भने परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने उहाँले जानकारी दिनुभयो ।
बैतडीमा नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थीका लागि २५ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ भने प्राविधिक धारतर्फका परीक्षार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा केन्द्र तोकिएको छ।यस वर्ष जिल्लामा चार हजार ५ सय ५१ जना परीक्षार्थी एसईईमा सहभागी भएका छन् ।
नियमिततर्फ एक हजार ९६३ छात्र र एक हजार ९५८ छात्रा गरी तीन हजार ९२१ जना तथा ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० जना परीक्षार्थी रहेका छन् ।जिल्लाका १३८ सामुदायिक र आठ संस्थागत गरी कुल १४२ विद्यालयका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिइरहेका छन् ।








