बैतडी :बैतडीको सिगास गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पहल थालेको छ ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि पालिकाले शैक्षिक पात्रो अनुसार काम गर्ने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए ।
पालिकाभरी ५८ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । आधारभूत तह र माध्यमिक तहको पढाई हुने ती विद्यालयहरुमा शैक्षिक क्रियाकलापहरुलाई व्यवस्थित बनाउन शैक्षिक पात्रो लागू गरिएको उनले बताए ।
शैक्षिक गुणस्तर सुधारका लागि पालिकाभरीका विद्यालयहरुमा परीक्षामा एकरुपता ल्याउने प्रयास भएको भट्टले बताए । कक्षा १ देखि ९ सम्म सबै विद्यालयमा पालिकाले प्रश्न पत्र तयार गरेर परीक्षा गराउने गरेको उनले बताए ।
कक्षा ८ को पालिकास्तरीय बोर्ड परीक्षा गर्ने गरिएको र अन्य कक्षाहरुको पनि प्रश्नपत्र पालिकाले तयार गर्ने गरेको भट्टले बताए । अन्य कक्षाको उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकहरुले जाँच गर्ने भएपनि प्रश्नपत्र भने पालिकाले तयार पार्ने गरेको उनले बताए । उनले भने ‘हामीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पहल गरिरहेका छौं । सबै विद्यालयहरुमा अनुगमनका साथसाथै अन्य क्रियाकलापहरु पनि सञ्चालन गरिरहेका छौं ।’
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएपछि शैक्षिक गुणस्तरमाथि प्रश्न उठीरहेका बेला सिगास गाउँपालिकाले सुधारको प्रयास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
पालिकाभरीका सबै विद्यालयमा प्रश्नपत्रमा एकरुपता ल्याउने उद्देश्यले पालिकाभरीका सबै विद्यालयमा एकै किसिमको प्रश्नपत्र पठाउने गरिएको उनले बताए ।
केही दिन पहिला शैक्षिक गुणस्तर परीक्षण केन्द्रको टोलीले सिगासका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरेर प्रतिवेदन पालिकामा बुझाएको थियो । उक्त प्रतिवेदन अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुको नतिजा मध्यम देखिएको छ । यो नतिजा नगरपालिकाको भन्दा राम्रो रहेको बताइएको छ ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएपछि सबै स्थानीय तहहरुले शिक्षा क्षेत्रमा सुधारका लागि पहल गर्नुपर्ने अर्जुन माविका प्रधानाध्यापक धामीले बताए ।
पछिल्लो समयमा शिक्षा क्षेत्र सुधारका लागि सिगास गाउँपालिकाले केही पहल गरेको भएपनि यो पार्याप्त नरहेको धामीको भनाइ रहेको थियो।










