वाशुलिङ (बैतडी)- पुराना कृषि औजार र ग्रामीण जीवनशैलीसँग सम्बन्धित सामग्री अब केवल सम्झनामा सीमित हुन थालेका बेला पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालयले विद्यालयमै संग्राहालय जस्तो कोठा स्थापना गरेर लोपोन्मुख सामग्रीको संरक्षण र विद्यार्थीलाई देखाएर बुझाउने पहल सुरु गरेको छ ।
विद्यालयले आफ्नै विद्यालय परिसरमा लघु सङ्ग्रहालय स्थापना गरी पुराना औजार, भाँडाकुँडा र दैनिक प्रयोगमा आउने सामग्रीलाई व्यवस्थित रूपमा राख्न थालेको छ । विद्यालयको एउटा कोठामा हलो सगैँ जुवा, मई लिँडुल्को जुवा, हल्लुडो, सुप्पो, पुराना स्थानीय महिला तथा पुरुषका कपडा जस्ता पारम्परिक कृषि औजार र अन्य सामग्रीहरू नामसहित सजाएर राखिएका छन् । पहिले त खेतबारीमा र घरमै प्रयोग हुने यी सामग्री अब संग्रहालयीय ढङ्गमा प्रदर्शित छन, जसले विद्यालयलाई एक प्रकारको जीवित पाठशालामा रूपान्तरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीका अनुसार नयाँ पुस्तामा यस्ता सामग्रीबारे जानकारीको अभाव बढ्दै गएकाले यो पहल गरिएको हो । “उहिलेका धेरै वस्तु लोप भइसके, अहिले विद्यार्थीलाई नाम भने पनि बुझ्दैन्न । पढाउँदा पनि देखाएर बुझाउने आधार थिएन ” उहाले बताउनुभयो । ” त्यसैले सामग्री देखाएर पढाउन सकियोस र सही धारणा बसोस् भन्ने सोचले यो सङ्ग्रहालय सुरु गरिएको हो ।”
उनका अनुसार विद्यालयले करिब एक वर्षअघिदेखि गाउँका बासिन्दाको सहयोगमा सामग्री संकलन गर्ने थालेको हो । स्थानीयहरू आफ्ना घरमा वर्षाैदेखि थन्काएर राखिएका पुराना वस्तु ल्याएर विद्यालयलाई उपलब्ध गरेर सहयोग गरिरहेका छन् । यसरी संकलित वस्तुहरूलाई नाम र प्रयोगका विवरणसहित प्रदर्शनमा राख्ने गरिएको छ, जसबाट विद्यार्थी मात्र नभई अभिभावक र अन्य पाहुनाले पनि अघिल्ला पुस्ताको जीवनशैली बुझ्न सक्नेछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिष बिष्टले लोपोन्मुख सामग्रीको पहिचानलाई जीवित राख्न यस पहलले ठुलो मद्दत गर्ने बताउनुभयो । ” विद्यार्थीलाई कोरा ज्ञान मात्र दिएर सम्झाउन गाह्रो पथ्र्यो । अब देखाएर पढाउन पाइने भयो , ” उनले भन्नुभयो । ” यसले स्थानीय तहले निर्माण गर्ने स्थानीय पाठ्यक्रमलाई समेत सहयोग पुग्नेभएको छ । “

स्थानीय शिक्षकहरुका अनुसार पनि यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यालयमा प्रायोगिक अध्ययनको वातावरण सिर्जना गर्छ र संस्कृति–इतिहासप्रतिको गर्व बढाउँछ । विद्यार्थीहरूले अघिल्ला पुस्ताले प्रयोग गरेका उपकरण हेरेर तिनको उपयोग, नाम र सांस्कृतिक महत्व बुझ्न सक्ने भएकाले बालबालिकामा मौलिकता र आत्मपहिचानको भावना बढ्छ । ज्ञानेश्वर माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको यो लघु सङ्ग्रहालय अहिले अन्य विद्यालयका शिक्षक र स्थानीय तहको पनि ध्यानाकर्षणको विषय बनेको छ ।















