बैतडी– बैतडी जिल्लामा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर संशोधन गरिएको छ।
यात्रुसँग विभिन्न बहाना बनाएर तोकिएकोभन्दा बढी भाडा असुल भइरहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले भाडा समायोजन मापदण्डअनुसार नयाँ भाडादर निर्धारण गरेको जनाएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीका प्रतिनिधिसहित बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि संशोधित भाडादर लागू गर्ने निर्णय गरेको हो। प्रशासनले स्वीकृत भाडादरको सूची प्रत्येक सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा टाँस्न निर्देशन दिएको छ।
साथै तोकिएकोभन्दा बढी भाडा असुलेमा कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।विभिन्न ४० रुटको भाडादर तोकिएको र त्यो भन्दा बाहेकका जिल्लाका कच्ची सडकहरुमा प्रति किलोमिटर १० रुपैयाँ २ पैसाका दरले नयाँ भाडादर तोकिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नयाँ भाडादर अनुसार गोठलापानी–सतबाँझको भाडा १ सय ४४ रुपैयाँ कायम गरिएको छ भने गोठलापानीबाट खोड्पेको ३ सय ६० रुपैयाँ कायम गरिएको छ । यस्तै झुलाघाटबाट बित्थडको ६ सय ६० रुपैयाँ भाडा कायम गरिएको छ भने गोठलापानीबाट गोकुलेश्वरको ४ सय ४४ रुपैयाँ भाडा कायम गरिएको छ।
यस्तै ढोल्यामोडदेखि पुर्चौंडी हाटसम्मको भाडा २ सय रुपैयाँ कायम गरिएको छ भने गोठलापानीदेखि डडेल्धुरासम्मको भाडा ५ सय ४ रुपैयाँ कायम गरिएको छ ।
तोकिएको भन्दा बढी भाडा नतिर्न र जबरजस्ती तिर्न लगाएमा प्रमाणसहित उजुरी गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नयाँ तोकिएको भाडादर पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने नागरिकहरुले माग गरेका छन् ।
प्रशासनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भाडादरमा नागरिकहरुले प्रतिक्रिया जनाउँदै तोकिएको भाडादर कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।











