spot_img

पात्ताल भूवेश्वरमा मेलाको तयारी पूरा

- Advertisement -

बैतडी, फागुन १३ । बैतडीको सूर्नया गाउँपालिका–२ स्थित प्रसिद्ध पत्ताल भूवनेश्वर धाममा बुधबार महाशिवरात्रीका अवसरमा लाग्ने मेलाको भव्य तयारी गरिएको छ । विगतका वर्ष भन्दा यस वर्षको महाशिवरात्रीमा यहाँ विशेष मेला हुने पत्ताल भूमेश्वर धार्मिक सेवा समिति संयोजक भरत बिष्टले बताउनुभयो । यहाँ पूजाआजा र मेला भर्न बैतडीलगायत दार्चुला, बझाङ, डडेलधुराबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

यहाँ पाँच महिनादेखि भारतको सिक्किमकी एक युवतीले ध्यान गरिरहनुभएको छ । उहाँले शिवरात्रीका दिन प्रवचन दिने कार्यक्रम पनि रहेको पाटन नगरपालिका–४ का सिद्धराज भट्टले बताउनुभयो । सपनामा पत्ताल भुमेश्वर धामको बारेमा थाहा भएपछि सिक्किमबाट यहाँसम्म आएर ध्यान गर्ने योजना सुनाउनुभएको सूर्नया– २ का मोहन बिष्टले बताउनुभयो । शिवरात्रीका दिन सिउडे बजारमा व्यापारिक मेला लाग्ने गरेको छ भने त्यहाँबाट पैदल मन्दिर क्षेत्रसम्म पूजाआजाका लागि जाने गरेका छन् । सूर्नया–२ का वडाअध्यक्ष गणेशबहादुर बिष्टले दर्शनार्थीको सुविधाका लागि सबै व्यवस्थापनको काम गरिएको बताउनुभयो । मन्दिर परिसरमा पहिलो पटक पानीको सुबिधा पनि गरिएको उहाँले बताउनुभयो ।

दशरथचन्द राजमार्गको सिउडेबाट २० मिनेट पैदल उकालो हिँडेर पुग्न सकिने बैतडीको सूर्नया गाउँपालिका–२ मा रहेको पात्ताल भूमेश्वर क्षेत्रमा प्राकृतिक ताल र गुफाको बीचमा शिव मन्दिर छ । चारैतिर जंगलले घेरिएको तालमा जमिनमूनिबाट पानी उब्रिने गरेको हो । यहाँ रहेको तालमा पछिल्लो समय पानी घट्दै गएको छ । समुन्द्री सतहदेखि २०८४ मिटर उचाइमा रहेको यो तालमा दशकयता पानीको सतह वर्षेनि घट्दै गएको हो ।

डाँडाको टुप्पामा रहेको यो तालसँगै लामो गुफा पनि छ । यो तालको पानीलाई यहाँका बासिन्दाले पवित्र मान्ने गर्छन् । करिब १५० मिटर चौडा तालमा ४÷५ वर्षअघिसम्म गर्मी सिजनमै पनि पर्याप्त पानी हुने गरेको थियो । पछिल्ला वर्ष हिउँदमै तालको आधा भाग खाली देखिने गरेको स्थानीय मोहन बिष्ट बताउनुहुन्छ । हिउँदभरी हिउँले भरिएको यो जंगलमा ८÷१० वर्षयता बिरलै हिउँ जम्ने गरेको छ । हिउँदे वर्षा  र हिमपात नभएका कारण पछिल्ला वर्ष तालमा पानी घटिरहेको हो । जलवायुमा आएको फेरबदलले हिउँ नपर्ने र वर्षा पनि कम भइरहेकाले पात्ताल भूवनेश्वर तालको पानी घटेको हुनसक्ने बिष्टले बताउनुभयो । 

पाताल भुमेश्वर गुफा र तालसँग सम्बन्धित बिभिन्न किम्वदन्ती रहेको पाइन्छ । परापूर्वकालमा महादेवले सतिदेवीको मृत शरीर घुमाउँदै हिँड्दा यस स्थानमा सतीदेवीको पैतला खसेकोले यसको नाम ‘पाताल भुवनेश्वर’ गुफा रहेको किंवदन्ती छ । तालको संरक्षणका लागि ती वर्षअघि वरिपरि घेरबार गरे पछि चौपाया पस्न पाएका छैनन् । त्यसअघि यो तालमा भैंसी आहाल खेल्ने गरेका थिए । यस धार्मिक वन क्षेत्रमा दर्जन बढी साना गुफा समेत रहेको स्थानीय बासिन्दा बताउँछन् । मन्दिरसम्म पुग्न राजमार्गबाट घोडेटो बाटो बनाएको छ । पछिल्लो समय यो मन्दिरमा बिबाह, ब्रतबन्धका लागि भीड लाग्ने गरेको छ । छिमेकी जिल्ला दार्चुला, डडेल्धुरा, बझाङबाट समेत बिवाह र व्रतबन्धका लागि आउने गरेका छन् । महाशिवरात्रीमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गरेको छ । यहाँ रहेको शिव मन्दिर जीर्ण बन्दै गएको छ भने श्रद्धालुका लागि बिश्रामस्थलको पनि अभाव छ । स्थानीयले यहाँ विवाह गर्न सहजताका लागि संरचना बनाउन आवश्यक रहेको बताएका छन् ।

यो क्षेत्रको विकास गर्न सके बैतडीलगायत सुदूरपश्चिमकै पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने सक्ने स्थानीय सूर्नया गाउँपालिका २ ग्वानीका नवराज धामी बताउँनुहुन्छ ।  पछिल्लो समय मन्दिर तथा गुफाको दर्शन गर्न र मनोरम दृष्यावलोकनका लागि देश तथा बिदेशबाट थेरै पर्यटक आउने गरे पनि तथ्यांक कसैले नराख्ने गरेको उहाँले बताउनुभयो । ‘भारतबाट समेत धेरैजसो घुम्न र मन्दिर दर्शन गर्न आएका देख्छौं । तर उहाँहरुको न कुनै नियायले तथ्यांक राख्ने गरेको छ न अन्य व्यवसाय पवद्र्धननै भएको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ घुम्न आउनेहरुको व्यवस्थित तथ्यांक राख्ने र उहाँहरुबाट स्थानीयले लाभ पाउने खालको योजना बनाउन आवश्यक छ ।’

यो गुफाभित्र प्राकृतिक कलाकृति समेत देखिएको अवलोकनकर्ताहरु बताउँछन् । शिवलिङ्ग, ढुंगाले बनेको, हात्तीको सूँड र पाँच वटा अनौठा मुर्तीहरु समेत देखिने गुफाबारे जानकार स्थानीय कृष्णबहादुर बिष्टले बताउनुभयो । ‘गुफाभित्र पस्न सहज छैन, साँघुरो र अफ्ठ्यारा छिचोल्नु पर्छ, त्यहाँ चिल्लो पदार्थ बगेको देखिन्छ,’ उहाँले भन्नुभयो । गुफाभित्र प्राकृतिक मुर्तीहरु र शिलालेख पनि देख्न सकिने बिष्ट बताउँछन् ।

बेलाबेला विदेशी गुफा विशेषज्ञको टोलीले लम्बाई र गहिराई पत्ता लगाउने प्रयास गरेको भए पनि अझैसम्म वास्तविक लम्बाई पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । २०७२ सालमा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले ८ सय मिटरसम्म पुग्नुभएको थियो । उहाँले ८ सय मिटरभन्दा पर जान नसकेको बताउनुभएको थियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयका भूगर्भविद्को टोलीले पनि अध्ययन गरेको थियो । उक्त टोलीले यो गुफा चट्टानै चट्टानले भरिएको बताएको थियो ।

पत्ताल भुवनेश्वर गुफाको लम्बाई तथा गहिराई पत्ता लगाउन विस. २०८० पुस ८ गतेदेखि एक हप्तासम्म बेलायतका गुफा विषेशज्ञ पिटर एलिसनको नेतृत्वको टोलीले पनि अध्ययन गरेको थियो । उहाँको टोलीले पनि गुफाको अन्तिम बिन्दु पत्ता लगाउन सकेको थिएन । अन्तराष्ट्रिय स्तरमा यसको प्रचार गर्न सके सहासिक पर्यटकीयस्थलको रुपमा पनि विकास गरेर पर्यटक भित्र्याउन सहज हुने पत्ताल भुमेश्वर धार्मिक वन समितिका अध्यक्ष अरुण बिष्टले बताउनुभयो । पर्यटकका लागि बस्ने व्यवस्था गरेर प्रचार प्रसारसमा सबैले सहयोग गर्नुपर्ने बिष्टले बताउनुभयो । पत्ताल भुमेश्वर क्षेत्रको ताल संरक्षण तथा पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि प्रदेश तथा संघीय सरकारसँग पहल भइरहेको सूर्नया गाउँपालिका अध्यक्ष अमरबहादुर कुवँरले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img